उद्योग दर्तामा महिलालाई छुट

इलाममा महिला उद्योगीको संख्या बढ्दै

0
Shares

गणेश घिमिरे, इलाम

सरकारले उद्योग र व्यावसाय दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि इलाममा महिला व्यावसायिको संख्या बढ्दै गएको छ। कुनैबेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने प्रचलन न्यून रहेको यस जिल्लामा चालु आर्थिक वर्षको भाद्र महिनादेखि महिलाहरूको नाममा उद्योग दर्ता गर्दा विशेष छुट रहेको छ।

तीन महिनायता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउनेक्रम बढेको हो । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको १ करोड रूपियाँ पुँजी रहेको उद्योग व्यवसाय दर्तामा दुईसय रूपियाँमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि इलाममा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउनेक्रम बढेको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख पदम कट्टेलले बताउनुभयो।

उहाँका अनुसार अचेल कार्यालयमा पुरुषको नाममा भन्दा पनि महिलाको नाममा उद्योग दर्ता गराउनेको संख्या दिनदिनै बढ्दै गएको छ। एक करोडदेखि ५ करोडसम्म पुँजी भएको उद्योग दर्ता गर्न ५० प्रतिशत छुट हुने व्यवस्था सरकारले गरेको छ। पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर तिर्नुपर्छ।

त्यही व्यापार पुरुषको नाममा दर्ता गर्न चाहे २५ हजार रूपियाँसम्म दर्ता दस्तुर लाग्छ। घरेलु कार्यालय इलामका अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा एकसय ३८ उद्योग दर्ता कार्यालयमा भएको छ। त्यसमा सबैभन्दा बढी महिलाको नाममा ९२ वटा उद्योग दर्ता भएका छन्।

पुरुषको नाममा ५२ वटा उद्योग दर्ता भएका छन्। बाणिज्य फार्म भने कार्यालयमा ४४ वटा भएको छ। महिलाका नाममा बढि दर्ता भएका उद्योगमा कृषि फार्म, सिलाई कटाई, डेरी उद्योग, ब्यूटिपार्लर रहेका छन्। यी आँकडाले पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउनेक्रम बढेको पुष्टि गर्छ।

महिलाको नाममा उद्योग दर्ता बढि हुँदा राजस्वमा कमी आएतापनि नागरिकहरूले राहत महशुुस गरेको कार्यलय प्रमुख कट्टेलको भनाई छ। उहाँका अनुसार चालु आवको तीन महिनामा उद्योग र बाणिज्य फर्म दर्ताबाट १३ लाख ३६ हजार एकसय ७५ रुपियाँ राजस्व संकलन भएको छ।

सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुरमा छुट दिनु, बैंक तथा वित्तीय संस्थाहरूले उद्योग व्यवसायलाई ऋण लिने प्रक्रिया सहज बनादिनु तथा तीनै तहका सरकारबाट आउने अनुदान बढ्नु लगायतका कारण घरेलु तथा साना उद्योग विकास समिति इलाममा उद्योग दर्ता गराउने क्रम बढ्नुका साथै महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो।

विगतमा महिलालाई उद्योग व्यापारको मालिक बनाउनु हुँदैन भन्ने मानसिकता व्याप्त थियो, तर अहिले त्यो मानसिकता हट्दै गएकाले महिलालाई मालिक बनाउन थालिएको सरोकारवालाहरू बताउँछन्। पुरुष प्रधान समाजमा महिलालाई मालिक बनाउने संस्कार पहिला थिएन तर अहिले महिलालाई सुविधाहरू दिन थालेपछि समाज रूपान्तरण हुन थालेको छ।