स्वयम्सेवक दिवस मनाइँदै

0
Shares

काठमाडौं, (नेस)।

आज अंग्रेजी महिनाको डिसेम्बर ५ तारिख, यो दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रूपमा मनाउने गरिन्छ। ‘भविष्यका लागि समावेशीकरण’ भन्ने नाराका साथ विश्वभर विविध कार्यक्रम आयोजना गर्दै यो वर्षको दिवस मनाइदैछ।

नेपालमा संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले विविध कार्यक्रमतय गरेका छन्। स्वयंसेवाको महत्वकाबारे सचेतना मुलक कार्यक्रमसहित समाजमा व्याप्त असमानता हटाउन र दिगो विकास लक्ष्य प्राप्तिमा सघाउने गतिविधी सातै प्रदेशमा प्रस्तुत हुँदैछन्।

दिवसका अवसरमा जागरूकता बुथको स्थापना, स्वयंसेवी सम्मेलन र युवा लक्षित कार्यक्रम आयोजना हुने राष्ट्र संघको नेपालस्थित कार्यालयले जनाएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा साझेदारी स्वयंसेवावादको लागी जागरूकता बुथ स्थापना गरिने सो कार्यालयद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ – ‘स्वयंसेवक कसरी हुने र कसलाई सम्पर्क गर्ने भन्ने बारे स्वयंसेवकले जानकारी प्रदान गर्नेछन् र लैंगिकतामा आधारित हिंसा अन्त्यका लागी १६ दिने अभियानको समेत जानकारी दिनेछन्।’

एक सयभन्दा बढी राष्ट्र संघका युवा स्वयंसेवक बसन्तपुर, बौद्ध, प्रदर्शनी मार्ग, जावलाखेल,पाटन र भक्तपुर दरबार स्क्वायरसहित भक्तपुरको कमल बिनायकमा खटिदैछन्। स्वयंसेवकले देशभरिमा गरेको प्रयास र पुर्याएको योगदानलाई प्रोत्साहन गर्न र बहिष्कृत समूहका व्यक्तिलाई आफ्नो समय र सीपबाट रचनात्मक भूमिका खेल्न दिवसले प्रोत्साहन गर्ने राष्ट्र संघको विश्वास छ।