सचिवालय बैठक : हारको कारण खोज्दै नेकपा

0
Shares

काठमाडौं, (नेस)।

नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न उपनिर्वाचनमा महत्वपूर्ण क्षेत्र हार्नुको कारण खोजी गर्ने भएको छ। भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकामा हार्नुको कारण खोजी गर्ने भएको हो।

पार्टीभित्र नै अन्तरघात हुँदा निर्वाचनमा पराजित हुनुपरेको विषय उठेपछि नेकपा सचिवालय बैठकले उपनिर्वाचनको रिपोर्ट तत्काल केन्द्रीय कार्यालयमा पठाउन सम्बन्धित क्षेत्रका पार्टी कमिटीलाई निर्देशन दिएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकले जित्ने सम्भावना भएका निर्वाचन क्षेत्रमा पराजित हुनुको कारणको समीक्षा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेको अवस्थामा प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि बैठक बोलाउनुभएको हो।

पार्टी अध्यक्ष ओलीसँग परामर्श गरेर बोलाइएको सचिवालय बैठकमा प्रचण्डले अहिलेको समसामयिक विषय र पार्टीलाई गति दिने योजनासहित अगाडि बढ्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो।

बैठकले उपनिर्वाचन भएका सम्बन्धित स्थानका कमिटीलाई समीक्षा रिपोर्ट केही दिनभित्र पेश गर्न निर्देशन दिएको छ। यस्तै बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सचिवालयको अर्को बैठक मंसिर २३ गतेलाई बोलाइएको छ।

उक्त बैठकमा उपनिर्वाचन समीक्षा रिपोर्टको औपचारिक रूपमा छलफल तथा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा निर्णय लिइने श्रेष्ठले बताउनुभयो। सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसँगै महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल अनुपस्थित रहनुभएको थियो।