जाडो बढेसगैँ बढ्यो भारतबाट स्विटरको तस्करी

0
Shares

 

शुभेन्द्र दास,लहान ।

जाडो बढेसगैँ सिरहामा पर्ने नेपाल भारत सीमामा कपडाको तस्करी बढेको छ । नेपाल भारत सीमामा पर्ने सिरहा जिल्लास्थित ठाँडी , झाँजपटी , बरियारपटी , कचनारी , माडरबाट ब्यापारीले भारी मात्रामा राजस्व छली गरी स्विटर लगायत जाडोका कपडा भित्र्याउने गरेका छन् ।

मंगलवार प्रहरीले माडर छेउमा पर्ने कल्याणपुर नगरपालिका ३ ईटारीमा ब्यापारीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरेको करिव एक लाख रुपैयाँ बराबरको स्विटर जफत गरेको छ ।

ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा उक्त कपडा पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएको उक्त कपडा भन्सार कार्यालय माडरमा बुझाएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएको सोमवार पनि भगवानपुर गाउँपालिका २ गमहरिया चौकमा प्रहरीले राजस्व छलि गरि नेपाल भित्र्याउँदै गरेको करिव चौरासी हजार रुपैयाँ बराबरको स्विटर लगायत जाडोको कपडा पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँचका क्रममा उक्त कपडा पक्राउ गरि भन्सार कार्यालय ठाडीमा बुझाएको थियो ।

त्यसैगरी गत सोमवार नै सिरहा नगरपालिका १९ जोगिया टोलमा प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरि नेपाल भित्र्याउँदै गरेको दस हजार रुपैयाँ मुल्य बराबरको कपडा नियन्त्रणमा लिई भन्सार कार्यालय माडरलाई बुझाएको थियो ।

भन्सार कार्यालय ठाँडीका नायव सुब्ब श्याम मगर जाडो बढे सगैँ भारतबाट स्विटर ज्याकेटको तस्करी बढेको स्विकार गर्छन् । मगर भन्छन् , ुभारतबाट स्विटरको ब्यापक तस्करी हुन थालेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी कपडा तस्करी नियन्त्रण गर्न सीमामा ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको बताउँदै भन्छन् , जाडोको कपडा तस्करी बढेकाले सुरक्षा निकायको परिचालन बढाएका छौँ ।

जाडोको लुगा सँगै भारतबाट किराना पसलका सामाग्रिको तस्करी पनि बढेको सुुरक्षा अधिकारीहरु बताउँछन् । गएको सोमवार नै औरही गाउँपालिका १ कुन्डलपुर गागन खोलामा प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेको पन्ध्र हजार रुपैयाँ बराबरको किराना सामान नियन्त्रणमा लिई भन्सार कार्यालय माडरमा बुझाएको प्रहरीले जनाएको छ ।