साढे चार बर्षमा सिन्धुलीमा २ सय २७ ओटा विद्यालय भवन निर्माण सम्पन्न

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउपालिका–३ बोहोरेटार स्थित प्रगतीशिल माध्यमिक विद्यालय भुकम्पले ध्वस्त भएको थियो । भुकम्पले ध्वस्त भएपछि भुकम्पपछिको पुनःनिर्माण अन्तर्गत एसियाली विकास बैंक(एडिबी)को सहयोगमा अहिले सुरक्षित विद्यालय भवन निर्माण भईरहेको छ । भुकम्प गएको साढे चार बर्ष वितिसक्दा पनि अझै उक्त विद्यालय भवनको पुनः निर्माण सम्पन्न भएका छैन् ।

लामो समयदेखि सिन्धुलीको हरिहरपुरगढी गाउपालिकाको क्यानेश्वर माध्यमिक विद्यालय ग्वालटारमा अझै टहरामै पठनपाठन भईरहेको छ । जिल्लाका यी विद्यालय लगायतका दर्जन बढी विद्यालयहरुले अझै टहरोमै पठनपाठन संचालन गर्दै आएका छन । जिल्लामा भूकम्प गएको साढे ४ वर्ष वितिसक्दा पनि विद्यालय भवन अझै सुस्त गतिमा निर्माण भईरहेको छ ।

२०७२ साल मा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै धेरै निर्माण हुन बाकीं रहेका छन् । पुर्ण रुपमा ध्वस्त भएका केहि विद्यालय अझै टहरामै पठनपाठन गर्दैछन् । यसका अलवा जोखिमयुक्त विद्यालय भवनमा समेत पठनपाठन हुदैं आएको छ। भूकम्प पश्चात् विद्यालय भवन बनाउने तथा टहरा निर्माण गर्ने बहानामा विभिन्न एनजिओ तथा आइएनजिओले करोडौं रुपैयाँ खर्चेको जनाए पनि हालसम्म आधा बढी मात्रै विद्यालय भवन बनेको छ।

सरकारी तथ्याङक अनुसार जिल्लामा रहेको पाँच सय ७७ विद्यालय मध्ये विनाशकारी भूकम्पबाट ५ सय ३५ विद्यालय प्रभावित भएको थिए । जसमध्ये ४५ ओटा विद्यालय पुर्ण रुपमा माटोमै मिलेको थियो भने बाकीं विद्यालयहरु चर्कने तथा पठनपाठनका लागि असुरक्षित भएको थियो।

जिल्लामा हाल सम्म पुनःनिर्माणको सुचिमा परेका मध्ये २ सय २७ ओटा नयाँ विद्यालय भवन निर्माण सम्मन्न भएको राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई, जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख शिबकुमार सापकोटाले जानकारी दिनुभयो । ‘भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण हुने क्रममै छ । भूकम्पबाट क्षतिग्रस्त १ सय आठ ओटा विद्यालय भवन अझै निर्माण हुन सकेको छैन । बाकीं विद्यालय भवन भने निर्माणाधिन रहेको छ’ प्रमुख सापकोटाले भन्नुभयो ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणको जिम्मा एसियाली विकास बैक, नेपाल सरकार, नेपाल रेडक्रस सहित सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले लिएका छन्। उहाँले भँन्नुभयो,‘ क्षतिग्रस्त विद्यालय भवनको तथ्याङक अनुसार २६ सय ६७ ओटा कक्षाकोठामा भूकम्पले क्षति र्पुयाएको थियो। अहिले बनेका विद्यालय भवन पहिलाका जस्ता कच्चा छैनन् । व्यवस्थित पक्कि भवन बनेका छन्’ ।

एसियाली विकास बैकले जिल्लाभर गरि २६ ओटा विद्यालय भवन बनाउने जिम्मा लिएको उहाँले बताउनुभयो । ‘१२ कोठेदेखि २४ कोठेसम्मका भवन एडिवीले बनाउने जिम्मा लिएको छ । २६ ओटा एडिवी, १ सय ९९ ओटा, जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा), १३ ओटा शिक्षा समन्वय इकाईले बनाउने जिम्मा लिएको छ’उहाँले भन्नुभयो ।

भूकम्प गएको पाँच वर्ष्भित्र निर्माण सम्पन्न गर्ने भनिएपनि त्यो सम्भावना हुने देखिएको छैन। नेपाल सरकारले पाँच वर्ष्भित्र निजी आवाससहित अन्य क्षतिग्रस्त भवन बनाइसक्ने लक्ष्य लिएपनि सिन्धुलीमा भने निजी आवास र विद्यालय भवननै सुस्त गतिमा निर्माण भएको छ ।

२०७७ साल पौष महिनासम्ममा पुर्न्निर्माण सक्नुपर्ने सरकारको लक्ष्य रहेपनि सिन्धुलीमा भने पुर्न्निर्माण नसकिने देखिएको छ । पाँच बर्षमा झन्डै ९० प्रतिशत पुर्न्निर्माण हुने देखिएको राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयका निमित्त प्रमुख सुर्यप्रकाश विष्टले बताउनुभयो ।