स्वतन्त्र पत्रकारलाई ‘विदेशी एजेन्ट’ आरोप लाग्न सक्ने

0
Shares

मस्को, (एजेन्सी)।

विवादास्पद कानुनको संशोधनपछि अबदेखि रुसी सरकारले स्वतन्त्र पत्रकार र ब्लगरहरूलाई सजिलैसंग ‘विदेशी एजेन्ट’ करार दिन सक्ने भएको छ।

यसअघि नै केही निश्चित सञ्चार माध्यमहरू र राजनीतिकमा संलग्न तथा विदेशबाट आर्थिक सहयोग हासिल गर्दै आएका अन्तर्राष्ट्रिय गैरसरकारी संघ संगठनहरू ( एनजीओ) हरूलाई सरकारले एजेन्टको आरोप लगाउने गरेको थियो।

रसियाको यस संशोधित कानुनको युरोपेली संघ ( ईयू), एम्नेस्टि इन्टरनेसनल र ओएससीई अन्तर्राष्ट्रिय सुराक्षा निकायले विरोध जनाइसकेका छन्। सोभियत कालिन समयमा मात्र सरकार विरोधीहरूलाई दुःख दिन सिधै विदेशी एजेन्टको आरोप लगाइने गरिन्थ्यो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार उक्त संशोधित ‘विदेशी एजेन्ट’ सञ्चार कानुनमा हस्ताक्षर गरेका थिए।रसियाले सन् २०१७ मा पहिलोपटक अमेरिकामा क्रेमलिन समर्थित प्रशारण कर्ता आरटीमा काम गर्ने अमेरिकीहरूलाई विदेशी एजेन्टको संज्ञा दिइएको बदलामा यो कानुन लागू गरिएको जनाएको छ।

तर वास्तवमा रसियामा राजनीतिक गतिविधिमा संलग्न तथा विदेशी आर्थिक सहयोग प्राप्त गर्ने गैरसरकारी संगठनहरू (एनजीओ), दातृ संस्थाहरू र नागरिक समाज समूहलाई लक्षित गरी सन् २०१२ मा ‘विदेशी एजेन्ट’ कानुन लागू गरिएको हो।

सन् २०१५ मा रसियाको न्याय मन्त्रालयले पुटिन विरुद्ध भ्रष्टाचार अभियान चलाउँदै आएका एलेक्सेइ नाभाल्नीको प्रतिष्ठान र रसियामा प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत विद्यार्थीहरूलाई पनि विदेशी एजेन्टको आरोप लगाइएको थियो।