जस्तो पीडा विद्याको उस्तै विमलाको

0
Shares

दीप शर्मा, काठमाडौं । 
नरेन्द्र केसी, दाङ ।

ही मंसीर १३ गते सम्पन्न उपनिर्वाचनमा केही यस्ता संयोग देखिए जुन घटना एकै प्रकृति थिए अनि विजय पनि उस्तै खालका। सन्दर्भ चुनावी जितकै हो ः कुरो भने कास्की र दाङको हो अर्थात् दुवै ठाउँका निर्वाचनमा विजयी बनेका विद्या भट्टराई(कास्की) र विमला ओली(दाङ) को।

समयले यस्तो रचना गर्यो कि विद्या र विमला दुवैले पतिका बाँकी सपना पूरा गर्न चुनावी मैदानमा उत्रनुपर्ने अवस्था आयो। दुवैका श्रीमान्को निधन दुर्घटनामा नै भएको, दुर्घटना एउटा आकाशमा अर्काे धर्तीमा।

दुवै राजनीतिककर्मी, पदीय ‘पोर्टफोलियो’ मात्रै केही तल–माथि। फरक यति विद्या कास्की–२ बाट प्रतिनिधिसभा र विमला दाङ ३ ‘ख’ को प्रदेशसभा सदस्यमा निर्वाचित।

अनि विद्याका श्रीमान् रवीन्द्र अधिकारी मन्त्री विमलाका श्रीमान् उत्तरकुमार ओली प्रदेशसभा सदस्य। २०४१ साल माघ २२ गते कालीराम खत्री र लालकुमारी खत्रीकी कान्छी छोरीका रूपमा जन्मिनुभएकी विमला विद्याभन्दा कान्छी नै हुनुहुन्छ उमेर र राजनीतिक संघर्षका हिसाबले।

धेरैले भन्ने गर्छन्, जीवन सम्भावनाको खेल हो। गत वर्षसम्म विद्या र विमलालाई यो जिम्मेवारी सम्हाल्नुपर्छ भन्ने कल्पनासमेत थिएन। रवीन्द्र र उत्तरकुमारको हवाई/सवारी दुर्घटनामा मृत्यु भएपछि उहाँहरूको काँधमा घर व्यवहार सम्हाल्ने जिम्मेवारी मात्र आएन, श्रीमान्का बाँकी राजनीतिक दायित्वसमेत सम्हाल्ने जिम्मा एकैसाथ आयो।

रवीन्द्र र उत्तरकुमारको मृत्युको समय पनि झन्डै उस्तै उस्तै। रवीन्द्रको गत फागुनमा ताप्लेजुङमा हवाई र उत्तरकुमारको गत माघमा दाङको घोराही लमही सडकखण्डको चिसापानीमा सडक दुर्घटना हुँदा उपचारका क्रममा राजधानीमा लैजाँदै गर्दा निधन भएको।

रवीन्द्र र उत्तमकुमारको निधनपछि खाली भएको कास्की–२ र दाङ ३ ‘ख’को प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनबाट दुवैजना भारी मतान्तरले बिजयी हुनुभयो झन्डै बराबर नै मत ल्याएर। विद्याले २४ हजार ३ सय ९४ र विमलाले २४ हजार २ सय ८६ मत पाउनुभयो।

उहाँहरू दुवैका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै उम्मेदवार पर्नुभयो। विद्याका प्रतिद्वन्द्वी खेमराज पौडेलले १५ हजार ९ सय ९९ र विमलाका निकटतम प्रतिद्वन्द्वी केशवराज आचार्यले १९ हजार १ सय ८२ मत पाउनुभयो।

दुवैजना श्रीमान्का अधुरा काम पूरा गर्ने र आ–आफ्नो क्षेत्रको समृद्धि गर्ने प्रमुख नारासहित चुनावमा उत्रनुभएको थियो। दुवैजनाले विजयपछि ती काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।