‘अस्पतालमा डाक्टर हाजिर गरेर भाग्ने प्रवृत्तिको अन्त्य हुन्छ’

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालमा डाक्टरहरूले १० बजेदेखि ५ बजेसम्म सेवा गर्नुपर्नेमा १० बजे आएर हाजिर गरी १० बजेर ५ मिनेटमा आफ्ना निजी क्लिनिकमा जाने परिपाटीको अब अन्त्य हुने बताउनुभएको छ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मंगलबार अस्पतालमा आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्रको यस्ता बेथिति अब अन्त्य हुने बताउनुभएको हो।

स्वास्थ्यमन्त्री भएर आएपछि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आफूले बिशेषज्ञ डाक्टरहरूसँगको छलफलमा डाक्टरले गर्ने १०–५ को डियुटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाब आएको बताउनुभयो।

मन्त्री ढकालले भन्नुभयो– ‘डाक्टरहरू १०–५ मात्रै सेवामा लाग्छन् भने, त्यो भनेको के हो भनेर सोध्दा एक जना डाक्टरले भने १०–५ भनेको त १० बजे आउने, हाजिर गर्ने र १० बजेर ५ मिनेरमा जाने भन्ने रहेछ।

सेवाको जिम्मा लिएर यस्ता काम गर्नेलाई अब कारबाही गरिन्छ, सरकारी अस्पतालमा १० बजे हाजिर गरेर नाफाका लागि खोलिएका आफ्ना निजी क्लिनिकमा चलाउने बेथितिको अब अन्त्य हुन्छ।’

बजारमा औषधि महँगा छन् र औषधि नै किन्न नसकेर मान्छेहरू रोगसँग लड्न पाएका छ्रैनन् भन्ने सुनेको छु, भन्दै उहाँले अब औषधि उपचारका सेवा नपाएर, आर्थिक अभावका कारण कोही पनि मर्न नपरोस् र स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको उहाँले बताउनुभयो।

स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेश मै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपार्टीलाई अब पूर्ण रूपमा नियन्त्रण गरिने बताउनुभयो।

उहाँले कमिसनका आधारमा औजारहरू किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकमहरू यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएको बताउँदै अब स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गरिने उहाँको भनाइ थियो।

स्थानीय तहमा हस्तान्तरण भएका अस्पतालहरूलाई सहयोग गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताउदै उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आफू विगत १६ महिनादेखि सरकारमा रहँदा जनताको आधारभूत अधिकार स्थापित गर्ने संविधान तथा संघीयताअनुसारको कानूनले पूर्णता पाएको बताउँदै उहाँले भन्नुभयो– ‘सबै कानुन निर्माणले पूर्णता पाएपछि प्रधानमन्त्रीले मलाई स्वास्थ्य मन्त्रालयमा राम्रो काम गर्ने विश्वासले सरुवा गर्नुभएको हो, अब जनतासँग सरोकार रहेको स्वास्थ्य क्षेत्रमा जनताले राहत पाउने गरी गुणस्तरीय र सहज सेवाका लागि म पनि निस्वार्थ भावनाले काम गर्नेछु, र अरूलाई पनि निस्वार्थ भावनाले काम गर्नेपार्ने वातावरणको व्यबस्था गर्छु।’

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले यो अस्पताललाई छारेरोग विशेषज्ञ अस्पताल सहित सम्पूर्ण रोगको गुणस्तरीय उपचार गर्नेगरि सेवा विस्तार गर्दै लगेको बताउनुभयो।

उहाँले मध्यपुरथिमि नगरक्षेत्रमा रहेका सबै अपाङ्गहरूको शिक्षा, स्वास्थ्य र उनीहरूको आवश्यकता पुरा गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउदै सबै अपाङ्ग बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था नगरपालिकाले गर्ने घोषणा गर्नुभयो।

कार्यक्रममा मन्त्री ढकाल र नगर प्रमुख श्रेष्ठले अभिभावक स्वाबलम्बन समूहलाई रोटरी क्लव अफ मध्यपुरले दिएको पाँचवटा ह्वीलचियर प्रदान गर्नुभयो। त्यसै गरी आर्दश मावि लायकू, मानव विद्यागृह, स्वाबलम्न समूह र दिवा कक्षा केन्द्र भुँलाखेलका अपाङ्ग विद्यार्थीका लागि ८८ वटा थर्मस, टिफिन बक्सलगायतका सामग्री प्रदान गर्नुभयो।