आयकर छली गर्नेविरुद्ध मुद्दा



काठमाडौं, (नेस),

सूर्तीजन्य पदार्थको कारोबारमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा आयकर छली गर्ने दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

१ करोड ८४ लाख रुपियाँ बिगो दाबीसहित विभागले दुई फर्मका सञ्चालकविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

जिल्लाको शिवराज नगरपालिका– ५ चन्द्रौटास्थित लुम्बिनी पान मसला तथा सूर्ती गुट्खा उद्योगका प्रोपाइटर अब्दुल्ला मुसलमानले राजस्व चुहावट गरेको भन्दै विभागले ७८ लाख ४८ हजार रुपियाँ माग दाबी गरेको छ।

यस्तै विभागले एस ट्रेडर्स एन्ड सप्लायर्सका प्रोपाइटर दुजमान थापाले राजस्व चुहावट गरेको कसुरमा ६ लाख ४५ हजार रुपियाँ माग दाबी गरेको छ। गुट्खा उद्योगले अन्तःशुल्क स्टिकर नटाँसिएको अवस्थाको १३५ बोरा गुट्खा अन्तःशुल्क दाखिला नगरेको र ७८ लाख ४८ हजार रुपियाँ राजस्व चुहावट गरेको बिभागले जनाएको छ।

यसैगरी एस ट्रेर्डर्स एन्ड सप्लायर्सले अन्तःशुल्क स्टिकर नलागेको २०२५ किलो गुट्खाको कारोबार गरी ५४ लाख ५ हजार रुपियाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ।

जिल्लाकै मायादेवी गाउँपालिका–. ८ बस्ने अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोपाइटर सकिल अहमद फकिरले १२६७ किलो अर्धतयारी सूर्तीजन्य वस्तु भन्सार चोरी पैठारी गरी उक्त सुर्तिबाट ब्रान्ड बिनाको सूर्ती तयार गरी राजस्व चुहावट गरेको भन्दै विभागले ५१ लाख ८६ हजार रुपियाँ बिगो दाबी गरी मुद्धा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्