ब्याडमिन्टनमा नेपालको पदक पक्का

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

१३ औं साग अन्तरग भएको ब्याडमिन्टन टिम ईभेन्टस्मा नेपालको पदक पक्का भएको छ।पोखरा रङशालामा नवनिर्मीत ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले भुटानी टिमलाई ३ – ० ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउँदै पदक पक्का गरेको हो।

नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले भुटानी खेलाडी अनिश गुरुङलाई २१ – ६, २१ – ९ ले, दिपेश धामीले नैदुप दोर्जेलाई २१ – १३, २१ – १४ ले तथा उदियमान खेलाडी प्रिन्स दाहालले नोर्वु ड्रढुललाई २१ – १२, २१ – ५ ले पराजित गर्दै पदक पक्का गरेका हुन्।

यस्तै महिला टोलीले पनि बंगलादेश माथि ३ – ० को नै जित निकाल्दै पदकमा नाम लेखाएका छन्। नङशल देवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१ र २१–१७ ले, रशिला महर्जनले एलिना सुल्तानालाई २८–२६, २१–१९ ले तथा जेशिका गुरुङले विस्त्री खातुनलाई २१–१८, २२–२० ले पराजित गर्दै अर्को पदक पक्का गरे। अव नेपालले फाईनल प्रवेशका लागि दुवै टोलीले श्रीलङ्काको सामना गर्ने प्रशिक्षक किरण थापाले जानकारी गराए।