जनताको पैसा चलाउने प्रोफेसन बैंकमा हुनुपर्छ : गभर्नर नेपाल


नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूमा जनताको पैसा चलाउने प्रोफेसन हुनुपर्नेमा जोड दिनुभएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले राष्ट्र बैंकले ल्याउने नीति कसैको विरुद्धमा नहुने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो–‘राष्ट्र बैंकले कुनै पनि नीति कसको रिसमा, कसैको ह्वीमको भरमा, कसैमाथि चित्त नबुझेर ल्याउने गरेको छैन।’ गभर्नर डा. नेपालले आफूले जे गरे पनि अध्ययन गरेर मात्रै गर्ने दाबीसमेत गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू कहिल्यै पनि कसैको प्रभोगमा नपर्ने उल्लेख गर्नुभयो।

‘मेरो दुई छेउमा उद्योगीहरू हुनुहुन्छ म उहाँहरूको प्रोभोगमा पर्दिन, म जे गर्छु अध्ययन गरेर गर्छु, नेपाल राष्ट्र बैंकले नीति लामो अध्ययन गरेर ल्याउने हो, र त्यो नीतिले पछि असर पार्छ, जुन सकारात्मक हुन्छ,’ उहाँले भन्नुभयो।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफूहरूले मुलुकको अर्थतन्त्र सुधार र व्यापार घाटा न्यूनिकरणका लागि काम गर्ने बताउनुभयो। आगामी दिनमा आफू महासंघको नेतृत्वमा आउन लागेको बताउँदै ब्याजदरको विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। ब्याजदर खुला अर्थतन्त्र अनुसार नभएको बताउँदैै उहाँले यसमा राष्ट्र बैंकले नियमन बढाउनु पर्ने उल्लेख गर्नुभयो।

यसैगरी कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले देशमा अब आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अब देशमा राजनीतिक मुद्दा सकियो, आर्थिक क्रान्तिमा लाग्दा कहिकतै कमजोरी भयो भने सिधै थुनकेछ गर्नु हुँदैन।

त्यो व्यवहारिक छैन, त्यसले उद्योगीमा वितृष्णा हुन्छ।’ सरकारले ल्याउने ऐनमा भएको थुनछेक जस्ता व्यवस्थाले गर्दा लगानी नबढ्ने, उद्योग नथपिने जस्ता समस्या देखिने मोरको भनाइ छ।