वैदेशिक व्यापार ५ दशमलव १६ प्रतिशतले घट्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

चालू आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)मा नेपालले ४ खर्ब ८६ अर्ब ५७ करोड रुपियाँको वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक व्यापार ५ दशमलव १६ प्रतिशतले घटेको हो। गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३ करोड रुपियाँको वैदेशिक व्यापार भएको थियो।

वर्षको पहिलो ४ महिनामा आयात ६ दशमलव ९२ प्रतिशतले घट्दा निर्यात २३ दशमलव ९० प्रतिशतले बढेको छ। चालु वर्षको पहिलो चार महिनामा नेपालले ४ खर्ब ५० अर्ब २९ करोड रुपियाँको आयात गर्दा ३६ अर्ब २७ करोड रुपियाँ बराबरको सामान निर्यात गरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्षको पहिलो चौमासिकमा व्यापार घाटा ८ दशमलव ९० प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब १ करोड रुपियाँमा झरेको छ। गत वर्षको यही अवधिमा कूल व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपियाँ थियो।

आर्थिक वर्षको पहिलो चौमासिकमा भारतबाट २ खर्ब ७२ अर्ब रुपियाँको वस्तु आयात भएको छ। भारततर्फको निर्यात २४ अर्ब २६ करोड रुपायँ बराबरको छ। यसैगरी चीनबाट ८० अर्ब १८ करोड रुपियँँको वस्तु आयात गर्दा ७१ करोड ६ लाख रुपियाँको निर्यात भएको छ। यस्तै चालू आर्थिक वर्ष २०७६÷०७७को पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)मा २० लाखभन्दा बढी मोबाइल सेट नेपाल भित्रिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको तथ्यांकमा नेपालले ८ अर्ब ६२ करोड २१ लाख ६७ हजार रुपियाँ बराबरको २० लाख १ सय १२ वटा मोबाइल सेट आयात गरेको हो।

मोबाइल सेट आयातबाटै नेपालले ४ महिनामा १ अर्ब ३६ करोड ५१ लाख १ हजार रुपियाँ राजस्व समेत संकलन गरेको छ। तर, गत आवको सोही अवधिमा नेपालले १६ लाख ३४ हजार १ सय ८४ वटा मोबाइल सेट आयात गरेको थियो।

गत वर्षको यसै अवधिका मोबाइल आयातमा कुल ७ अर्ब ३९ करोड ५० लाख ५२ हजार रुपियाँ नेपालबाट बाहिरिएको थियो भने सरकारले १ अर्ब ३७ करोड ९५ लाख ४२ हजार रुपियाँ राजस्व संकलन गरेको थियो।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा भएको मोबाइल आयात गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३ लाख ६५ हजार ९ सय २८ले बढी हो। चालु आर्थिक वर्षको ४ महिनामा मोबाइल निर्यात भने ३ सयवटा मात्रै रहेको छ।