अपराध अनुसन्धान तथा नियन्त्रण गर्न प्रहरी अब्बल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको दावी गर्नु भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीबीच आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गर्नुभएको हो।

राज्यको अग्रपंक्तिमा रहेर कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षालगायत रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणगर्नका लागि प्रविधिको साथसाथै प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताउनुभयो।

सीमाबर्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधिहरू अहिलेको चुनौतीको रूपमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यस्ता अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गर्नुभयो।

प्रहरी महानिरीक्षक खनालले साङ्गठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय–प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यतालगायतका विषयमा प्रस्तुतीकरण गर्दै नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरू भन्दा फरक रूपमा समुदाय(प्रहरी साझेदारीको अवधारणा अनुरूप १२ वटा प्राथमिकताका विषय तय गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

साथै संगठन सुधारका लागि प्रहरी महानिरीक्षकले तय गरेका १० वटा प्राथमिकताहरूका सम्बन्धमा समेत उहाँले प्रकाश पार्नुभयो। सीमित साधन श्रोत तथा जनशक्तिको उपलब्धतामा प्रहरीले पूर्ण लगावकासाथ सम्पादन गरेका कार्यप्रति समाजको दृष्टिकोणमा पनि सही बुझाई हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसको काम, कर्तव्य तथा प्रदान गर्ने सेवालगायत विविध विषयमा सो अवधारणा समेटिएको छ।’

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विद्यार्थीको जिज्ञासाहरूको निरुपण गर्दै विगतको भन्दा बोली, वचन र व्यवहारमा परिस्कृत भई थप उत्कृष्ट नागरिक केन्द्रीत सेवा प्रदान गर्ने बताउनुभयो।

समुदायको सूचनाको महत्व र यसले अपराध नियन्त्रणमा खेलेको भूमिकाको सराहना गर्दै उहाँले शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तत्कालै खबर गर्न समेत उपस्थित विद्यार्थीलाई आग्रह गर्नुभयो।

सुरक्षा जहाँ हुन्छ त्यहाँ विकासका गतिविधि चलायमान हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले भयरहित समाज निर्माण तथा विकासका गतिविधिलाई अगाडि लैजान सबै समुदायबीच मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। अन्तरक्रियामा सहभागी विद्यार्थीले शान्ति सुरक्षा, प्रहरीको कार्य, ट्राफिक व्यवस्थापन लगायतका विषयमा विविध जिज्ञासा राखेका थिए।