एयरपोर्टमा पनि पप्पुको बदमासी

0
Shares

नेपाल समाचारपत्र, बाँके। 

नेपालगन्ज विमानस्थलको धाबन मार्गको किनारामा रहेका झाडी र रुख बिरुवाहरु कारण सुरक्षा चुनौती बढेको छ।पप्पु लुम्बिनी एपेक्स जेभीले ठेक्का लिएको काम समय मै सम्पन्न नगर्दा धावन मार्गको किनारामा झाडी र रुख बिरुवा बढेका कारण बँदेल र दुम्सी जस्ता जंगली जनाबरबाट बिमान अवतरण र उडानका क्रममा दुर्घटनाको जोखिम बढेको हो।

नेपालगञ्ज बिमानस्थलको धावनमार्गमा ओभर–ले (पिचमाथी कालोपत्रेको तह थप्ने), बिमानस्थल क्षेत्रमा रहेको झाडी सफा गर्ने, नाली निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी एपेक्स जेभीले पाएको थियो। यी कामहरु २०७४ माघ २ गतेसम्म पुरा गर्नु पर्ने भए पनि धावन मार्गको ओभर–ले गर्ने बाहेक झाडी सफा गर्ने, नाली निर्माण गर्ने काम अलपत्र पारेको छ।

लामो समयदेखि धावन मार्ग क्षेत्रको झाडी र रुख बिरुवाका नहटाइदा बिमानस्थल क्षेत्रमा जंगली जनावरहरुको गतिविधिलाई नियन्त्रण गर्न बिमानस्थल कार्यालयलाई निक्कै गाह्रो भइरहेको छ।

बिमानस्थलको धावन मार्गमा बँदेल र दुम्सी जस्ता जंगली जनावरको गतिविधि बढ्दै गएको छ।कुनै पनि बेला बिमानस्थलको धावनमार्गमा अवतरण र उडान गर्ने क्रममा बिमान जंगली जनाबरसँग ठोक्किएर दुर्घटना हुन सक्ने जोखिम बढेको नेपालगञ्ज बिमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताउनु भयो।

पप्पु लुम्बिनी एपेक्स जेभीले २०७३ साल पुस १७ गते बिमानस्थलको धावनमार्गमा ओभर–ले, बिमानस्थल क्षेत्रमा रहेको झाडी सफा गर्ने, नाली निर्माण गर्ने ठेक्का पाएको थियो।

करिब १३ करोडको लागतमा २०७४ माघ २ गतेसम्म सम्पन्न पुरा गर्ने गरी ठेक्का लिएको पप्पु लुम्बिनी एपेक्स जेभीले करिब ७० प्रतिशत काम गरेर बाँकी काम २ बर्षदेखि अलपत्र पारेको हो।

निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेका कारण धरौटी जफत गरेर कानुनी कारबाहीको प्रकृया सुरु गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउनु भयो।नेपालगञ्ज विमानस्थल हुँदै दैनिक करिब १५ सय यात्रुहरुले हवाइ यात्रा गर्छन्।

पर्यटकीय सिजनका बेला नेपालगञ्ज बिमानस्थल हँुदै दैनिक करिब ७० र अन्य सिजनमा दैनिक करिब ५० पटक बिमानले अबतरण र उडान गर्ने गर्छन्। पछिल्ला बर्षहरुमा नेपालगञ्ज बिमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुहरुको संख्या करिब २९ प्रतिशतले बृद्धि भएको छ।

बिमानस्थलको मर्मतको ठेक्का लिएको पप्पु कष्ट्रक्सन प्रालि लक्ष्य अनुसार काम नगर्ने, गरेको काम पनि गुणस्तरीय नगर्ने र बिभिन्न बहाना बनाएर सरकारी निकायका बिरुद्ध मुद्दा मामिला गरेर राज्यको ब्ययभार बढाउने गरेको पाइन्छ।