प्रतिजासुसीको जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई

नेपालमा मात्रै सीमित जासुसी सञ्जाल विदेशमा पनि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । 

मुलुकको जासुसी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई थप मजबुत र शक्तिशाली बनाउन ल्याइएको ऐन पारित हुने क्रममा छ। विभागलाई शक्तिशाली बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ल्याइएको विशेष सेवा ऐन अहिले मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्बाट पारित गर्ने चरणमा रहेको छ।

दलिँदो समयसँग विभागले आफ्नो कार्यशैलीलाई मजबुत र शक्तिशाली बनाउँदै लैजान नयाँ ऐन ल्याएको विभागका एक उच्च अधिकारीले बताए। ‘विभाग लगभग काम नलाग्ने अवस्थामा पुगिसकेको छ। समयसँगै नयाँ ढंगामा जानुको विकल्प देखिएन’ –उनले भने।विभागले राष्ट्रिय हितविपरीत हुने गतिविधिको पूर्वसूचना संकलन गरी उक्त गतिविधिको रोकथाम गरी राज्यलाई क्षति हुन नदिने जिम्मेवारीअनुसार काम गर्दछ।

नयाँ ऐनमा विशेष गरी प्रतिजासुसीलाई प्रमुखताका साथ हेरिएको छ। पछिल्लो समय प्रतिजासुसी गठन हुनुपर्ने भन्दै बेलाबेलामा आवाज उठ्ने गर्दछ। जसअनुसार प्रतिजासुसी शाखाको गठन गरेको विभागका एक उच्च अधिकारीले बताए।त्यसैले अब प्रतिजासुसीको काम विभागले मात्रै गर्नेछ। नेपालमा विभागका साथै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आ–आफ्ना गुप्तचर परिचालन गरी सूचना संकलन गर्थे।

विभागबाहेकका गुप्तचरले यस्ता खाले गुप्तचर सूचना संकलन गरे कडा कारबाहीको प्रावधान राखिएको छ।विभागको यसअघि वैदेशिक भेरिफिकेसन शाखाका रूपमा रहेको शाखालाई थप सुदृढ गरी प्रतिजासुसी डिभिजन गठन गरी शक्तिशाली शाखाको रूपमा संरचना बनाएको छ। यस शाखालाई यसअघि काम नपाउने शाखाको रूपमा लिइन्थ्यो। यस शाखाको सबै कर्मचारी काम नभएर फुर्सदिला देखिन्थे।

यस शाखाले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुुँदै आउने विदेशी प्रतिनिधिका बारेमा सूचना संकलन गथ्र्यो।विभागले ऐनमार्फत नयाँ संरचनाअनुसार सहअनुसन्धान निर्देशकको मातहत रहने गरी प्रतिगुप्तचर डिभिजन खडा गरेको छ। जसमा तीन पिलर गठन गरेको छ। जुन पिलरको उपअनुसन्धान निर्देशकले नेतृत्व गर्नेछन्। यो डिभिजन प्रधानमन्त्री संयोजक रहने एक निर्देशन समितिको प्रत्यक्ष निर्देशनमा समेत काम गर्दछ।

 

गठित संरचनाअनुसारको पिलर १ ले नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका कर्मचारी, प्रतिनिधिको गतिविधिको सूचना संकलन गर्नेछ।
पिलर २ ले भने नेपालमा रहेका कूटनीतिक नियोग र दूतावासमा भेट्न जाने र नेपालविरुद्ध गतिविधि गर्नेको निगरानी गर्ने जोकोहीको बारेमा सूचना संकलन गर्ने कार्य गर्नेछ।

 

त्यस्तै पिलर ३ ले नेपालबाट बाहिर भएका कूटनीतिक सम्बन्ध स्थापित देशहरुमा नेपालविरुद्ध हुने गतिविधि, उनीहरु नेपाल आउँदा हुने भेटघाटको सूचना संकलन गर्ने। यस पिलरमार्फत मुलुकभित्र मात्रै सीमित विभाग अब अन्तर्राष्ट्रिय रूपमा समेत आफ्नो उपस्थिति गर्नेछ।

विभागका एक उच्च अधिकारीले भने–‘हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय स्तरमा लगभग शून्य नै हो। यस शाखामार्फत सञ्जाल फिँजिनेमा विश्वस्त छु।’ नेपालले भारतस्थित भारतका लागि नेपाली दूतावासमा बाहेक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जनाउन सकिरहेको थिएन। यसको मुख्य उद्देश्य भनेको विदेशमा आफ्नो एजेन्टको सञ्जाल फिँजाई आफ्नो मुलुकविरुद्ध हुने सूचनाको संकलन गर्नु हो।