स्याँखु गाउँको पीडा : स्वास्थ्यचौकी नहुँदा धामीझाँक्रीको भर

स्थलगत रिपोर्टिङ

0
Shares

चिरञ्जीवी मास्के, दोलखा।

अधिकांश नेवार र मगरको बसोबास, झुरूपप मिलेर बनेका घरहरु र आसपासका रमाइलो चट्टानी पहाडले घेरिएको दोलखा बिगु गाउँपालिका–५ चिलंखामा पर्ने एउटा सुन्दर स्याँखु गाउँ।झन्डै चीनको तिब्बतसँग सीमा जोडिएको यो गाउँमा अहिले पनि धामीझाँक्री र वैद्यको विश्वास गरिन्छ।

सडकमार्गको विकासपछि अहिले यो गाउँमा पुग्न सदरमुकाम चरिकोटबाट मात्र तीन घण्टाको यात्रा गरे पुग्छ। तर यो सुन्दर गाउँमा अन्धविश्वास अझै कायम छ। केही दिन अघि मात्र यसै गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र विष्णुमाया श्रेष्ठलाई बोक्साबोक्सीको आरोपसहित सामाजिक बहिष्कार गरिएपछि गाउँको सामाजिक संरचना नै खलबलिएको छ।

पीडित दम्पतीले छोराहरुको सहयोगमा आफूहरुलाई बोक्साबोक्सीको आरोपसहित सामाजिक बहिष्कार गरेको भन्दै प्रहरीमा नौ जनाको नाममा किटानी जाहेरी दिएपछि अहिले गाउँ लगभग सुनसान बनेको छ।

टोल सुधार समितिले दम्पतीलाई सामाजिक बहिष्कारको निर्णय गरेपछि प्रहरीले टोलसुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ। बाँकी आठ जना गाउँ छोडेर भागेका छन्।

गाउँमा स्वास्थ्य चौकी नभएको र सानोतिनो उपचारका लागि समेत घण्टौं लगाएर छिमेकी गाउँको स्वास्थ्यचौकी धाउनुपर्ने भएपछि स्याँखु गाउँका बासिन्दा धामीझाँक्री र वैद्यको विश्वास गर्न बाध्य बनेको बिगु गाउँपालिका–५ का वडा सदस्य एवं स्याँखुका स्थानीय लयबहादुर श्रेष्ठ बताउनुहुन्छ।

‘हामीले पञ्चायती कालदेखि नै गाउँमा स्वास्थ्यचौकी राख्न पहल गर्यांै तर कसैले पनि हाम्रो माग र आवश्यकतालाई बुझिदिएनन्’ वडा सदस्य लयबहादुरले भन्नुभयो– ‘त्यसैको परिणाम अहिले पनि यो गाउँका वासिन्दा अन्धविश्वासमै बाँचिरहेका छन्।’

सामाजिक बहिष्कारको अगुवाइ गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रत्ननारायण श्रेष्ठको ८० वर्षीया आमा दलमाया श्रेष्ठ आफूले कहिल्यै पनि धामीझाँक्री र वैद्यको विश्वास नगरेको तर गाउँमा स्वास्थ्य चौकीको अभाव हुँदा अधिकांश गाउँले यस्तै अन्धविश्वासको भर पर्नुपर्ने बाध्यतामा रहेको बताउनुहुन्छ।

रत्नबहादुर श्रेष्ठ दम्पतीलाई सामाजिक बहिष्कार गरेकोमा गाउँलेहरु पछुताइरहेका छन्। ‘हामीले उहाँहरुलाई गाउँ छाड्न भनेका थिएनौं, बोक्साबोक्सीको आरोप त लगाएकै हैन, अन्जानमा टोल सुधार समिति र झाँक्री समूहबाट निकाल्ने निर्णय भएको हो’, टोल सुधार समितिका सदस्य स्थानीय पदमबहादुर मगर भन्नुहुन्छ– ‘हामी यो गल्तीका लागि रत्नबहादुर दम्पतीसँग माफी मागेर उहाँहरुलाई फूलमालासहित गाउँमा पुनःस्थापित गर्न तयार छौं।’

स्याँखुका युवा तारा श्रेष्ठ गाउँमा चेतनाको अभाव र स्वास्थ्य चौकी नहुँदा धामीझाँक्रीले प्रश्रय पाएको बताउनुहुन्छ। यो सरकारको पनि कमजोरी हो ताराले भन्नुभयो– ‘हामीले पटकपटक स्वास्थ्य चौकीको माग गर्दा सरकारले सुनवाइ गरिदिएको भए यो अन्धविश्वासले मौलाउने मौकै पाउने थिएन।’

एक सय ३५ घर धुरी र झण्डै चार सय ५० जनसंख्या भएको स्याँखु गाउँमा ८÷९ जना झाँक्री र ५÷७ जना वैद्यको काम गर्ने मानिस छन्। बिरामी परेका बेला तत्काल उपचार गर्न स्वास्थ्य चौकी जाने सम्भावना नभएपछि अधिकांश गाउँलेको पहिलो उपचार तिनै धामीझाँक्री र वैद्यबाटै हुने गरेको छ।

‘यो गाउँमा अन्धविश्वास कायम रहनुको मुख्य कारण नै स्वास्थ्य चौकीको अभाव हो’, पीडक भनिएका रत्ननारायणका श्रीमती असलीमाया श्रेष्ठले भन्नुभयो– ‘अहिले सडक पुग्दा त उपचारका लागि स्वास्थ्य चौकी लान कठिन छ पहिले पहिले हिँडेर स्वास्थ्य चौकी पुर्याउनु त सम्भव नै थिएन।’

टोल सुधार समितिले झाँक्री समूह र समितिबाट निकाल्ने निर्णय गर्नु गल्ती भएको तर रत्नबहादुर दम्पतीलाई बोक्साबोक्सीको आरोप भने नलगाएको असलीमायाको भनाइ छ। ‘हामीले धेरथोर गल्ती गरेका छांै, अब हामी उहाँहरुसँग माफी माग्दै बाजागाजासहित उहाँहरुलाई गाउँमा ल्याएर पुनःस्थापित गर्न तयार छौं’ –असलीमायाले भन्नुभयो।

राष्ट्रिय मानवअधिकार आयोगको सदस्य एवं प्रवक्ता मोहना अन्सारीको टोलीले पनि स्याँखु गाउँको स्थलगत अध्ययन गरेको छ। आयोगको सदस्य अन्सारी त्यति ठूलो गाउँमा स्वास्थ्य चौकी नहुनु र गाउँमा अझै पनि धामीझाँक्रीजस्तो अन्धविश्वास कायम रहनु विडम्वना भएको बताउनुहुन्छ। आयोगको सदस्य अन्सारीले गाउँको कुरीति र अन्धविश्वास हटाउने कुरामा गाउँपालिका र सरकारले समेत पहल गर्नुपर्ने बताउनुभयो।