कम्पनीको लापरबाहीले ५ मजदुरको ज्यान गयो

0
Shares

नेपाल समाचारपत्र, पोखरा।
पोखरा–२० मौजा बिसौनामा बाटोे निर्माण गर्ने क्रममा माटोले पुरिँदा पाँच जना मजदुरको मृत्यु भएको छ।माटोले पुरिएर बाघचौर नगरपालिका–४ सल्यानका ४० वर्षीय तोमान बस्नेत, ५२ वर्षीय जोगेन्द्र बुढाथोकी, २५ वर्षीय गणेश ओली, २५ वर्षीय खिमलाल ओली र ४५ वर्षीय जितबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो।

बाटो फराकिलो बनाउन पर्खाल लगाउने क्रममा माटो ओइरिँदा उनीहरूले ज्यान गुमाउनुपरेको स्थानीय तिलबहादुर गुरुङले बताउनुभयो।ठेकेदार कम्पनीले सुरक्षाका सामान उपलब्ध नगराउँदा र उद्धारमा ढिलाइ हुँदा उनीहरूको ज्यान गएको घाइते मजदुरहरूले बताएका छन्।

घटना भएको ३० मिनेटपछि जेसीबी र ५४ मिनेटपछि नेपाल प्रहरी एवं नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। मृतकहरू १० दिनअघि मात्रै त्यहाँ काम गर्न आएका थिए।उक्त बाटो बनाउन १ सय ७८ भन्दा बढी कामदार खटिएकामा धेरै कामदार नाला बनाउने, पर्खाल लगाउने गर्दै आएका थिए।

आइतबार बाटोको माथिल्लो भागमा पहिरो रोकथामका लागि पर्खाल लगाउन थालिएको थियो भने बाटो बनाउन खाल्डो खनिएको थियो। सोही खाडलमा बसेर ७ कामदारले काम गरिरहेका थिए। तीमध्ये एकजना खाडलमाथि बसी सिमेन्ट बालुवा मुछिरहेका थिए भने मजदुर खेमलाल बस्नेतले ढुगा दिने काम गर्नुभएको थियो।

‘८ बजेभन्दा केहीअघि जेसीबी र ठेकेदार कम्पनीका केही मानिस आएका थिए, पर्खाल लगाएको ठाउँमा बाटोभन्दा माथिको माटो भरिदिन आग्रह गरेका थियौं’, घाइते मजदुर खेमलालले भन्नुभयो– ‘काम सकिएपछि माथिको ढिस्को तल खसाल्ने योजना थियो।’

बिहान ८ बजे एक्कासि बाटोमाथिको माटो खसेपछि ढुंगा दिँदादिँदै भागेर ज्यान जोगाएको बस्नेतले बताउनुभयो।उहाँले भन्नुभयो– ‘अरू साथीहरू पनि भाग्न थाले, म पनि खाल्टोको पूर्वतर्फ भागेँ’, अन्य ५ जना खाल्टोको उत्तरतर्फ भाग्दा माटोले पुर्यो। नभागेको भए मेरो पनि ज्यान जान्थ्यो।’

‘पर्खाल लगाएको भन्दामाथिको भागको माटो राम्रोसँग नफाली खाल्टो बनाइएको थियो’, हीरासिंह चन्द्र भन्नुहुन्छ– ‘बाटोबाट तल फाल्न पर्ने माटो पनि नफालिएको कारण कामदार उक्त खाल्टोबाट निस्कन अप्ठ्यारो भएको कारण पनि पहिरोले भेटेको हो।’

६ करोड ६१ लाख रुपियाँ लागत योजनामा उक्त बाटो निर्माण कार्य भएको थियो। कामदार सबैको बीमा गरेको निर्माण कम्पनी रोयलका इन्जिनियर अबित केसीले बताउनुभयो।