वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

0
Shares

ईश्वरराज ढकाल,काठमाडौं।

राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक/एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको बताइएको छ।

यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन्। यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए। तर हाल नेपाली सेनाको ११ बाहिनीको रेखदेखमा रहेका यी दुई जहाज नेपालमा कहिले ल्याइएको थियो भन्ने जानकारी प्राप्त हुनसकेको छैन।राजा वीरेन्द्रको शासनताका रोयल विभागको मातहतमा विमान सञ्चालन हुने गरेको थियो।

‘नारायणहिटी संग्रहालयमा राख्ने तयारी गरेका हांै, यसबारे प्रारम्भिक अध्ययन भएको छ, राख्ने/नराख्ने विषयमा निर्णय हुन बाँकी छ।’ –संस्कृति पर्यटन तथा नागरिक उड््डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भन्नुभयो।सेनाले अध्ययन गरी मन्त्रालयलाई जानकारी गराएपछि ती जहाज उक्त संग्रहालयलाई हस्तान्तरण गरिनेछ।

संग्रहालयमा ल्याएपछि अवलोकन शुल्क तोकी दुईटै जहाज एभिएसन म्युजियममा राखिनेछ।सेनाले सरकारलाई लैजान आग्रह गरेपछि मन्त्रालयले म्युजियममा राख्ने तयारी गरेको हो। सेना, मन्त्रालय र संग्रहालयलबीच दुई संग्रहालयमा राख्नेबारे पटकपटक छलफल भइसकेको छ।

तीनै निकायका अधिकारीले संस्कृति मन्त्रालयमा प्रतिवेदन बुझाएपछि थप अध्ययन गरी नेपाल भ्रमण वर्षलगत्तै नारायणहिटी दरबार संग्रहालयको राहदानी विभागनजिकैको फरासखानामा राखिनेछ।ती जहाजका सबै पार्टपुर्जा भए पनि चलाउन सक्ने अवस्थामा नरहेको स्रोतले जनाएको छ।

थोत्रो भइसकेका ती जहाज राजा वीरेन्द्रको शासनकालमा रोयल फ्लाइटका लागि प्रयोग गरिन्थ्यो। हाल थन्किएको पुमा हेलिकोप्टर विमान चालकसमेत रहनुभएका राजा वीरेन्द्र त्यसलाई आफैले चलाउने गर्नुभएको थियो।