कास्कीमा भट्टराई भक्तपुरमा भँडेल

नेकपाकै अग्रता

0
Shares

सुनील महर्जन, काठमाडौं।
विजय नेपाली, पोखरा।
प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्या भट्टराई र प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी हुनुभएको छ।
भट्टराई कास्की–२ बाट ८ हजार ४ सय ३ मतान्तरले विजयी हुनुभएको हो। उहाँले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९९ मत ल्याउनुभयो।
त्यहाँ संघीय समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ र साझा पार्टीका रजनी केसीले ९ सय ४२ मत ल्याउनुभयो।
जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने र पोखरालाई पर्यटकीय राजधानी बनाउन लागिपर्ने बताउनुभयो।उहाँले जितसँगै रवीन्द्र अधिकारीको सपनालाई निष्ठा र इमानदारीपूर्वक पूरा गर्ने बताउँदै जनताले दोस्रो रवीन्द्रलाई चुनेको भावना राख्नुभयो। निकटतम प्रतिद्वन्द्वी पौडेलले भट्टराईलाई बधाई एवं शुभकामना दिनुभयो।
२०७४ सालमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट ७० प्रतिशतभन्दा बढी मत खसेको थियो। पहिले ४९ हजार मतदान भएको यो क्षेत्रमा अहिले कम मत खसेको हो। कास्की २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त थियो।
यस्तै भँडेल भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) बाट १३ हजार ४ सय ४९ मत ल्याई विजयी हुनुभएको हो। यसअघि उक्त क्षेत्रमा नेकपाले जितेको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ र नेमकिपाका निरज लबजुले ५ हजार ८ सय २९ मत ल्याउनुभएको थियो। २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याई विजयी हुनुभएको थियो।
लामिछानेको मस्तिष्कघातबाट मृत्यु भएपछि उक्त क्षेत्र रिक्त थियो।यस्तै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ गरी ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनमा धेरैजसो स्थानमा नेकपाकै अग्रता कायम छ।
आइतबार रातिसम्मको मतपरिणामअनुसार गाउँपालिकाका अध्यक्ष २ र उपाध्यक्ष १ सहित २३ वडाध्यक्ष नेकपा र नेपाली कांग्रेसले एक प्रदेशसभा सदस्यसहित ११ वडाध्यक्ष जितेका छन्।
संखुवासभा मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोख्रेल (३०१८ मत) विजयी हुनुभएको छ।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित हुनुभएको छ। यसअघि राजपा उम्मेदवारले जितेको सो गाउँपालिकामा ३ हजार २ सय ४९ मत प्राप्त गरी चौधरी निर्वाचित हुनुभएको हो।
उहाँको निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मतमा प्राप्त गर्नुभएको थियो। यादव चुनावको मुखैमा टिकट नपाएपछि नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो।यस्तै राजपाकी रविताकुमारी चौधरीले २ हजार ९ सय ६६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका विजयकुमार यादवले १ हजार ९ सय ३५ मत प्राप्त गर्नुभयो।
सीके राउतको जनमत पार्टी प्रतिस्पर्धामा आउन सकेन।हुम्ला खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाका रुपा शाही विजयी ( १ हजार ४ सय ५४ मत) हुनुभएको निर्वाचन आयोगले जनाएको छ।२३ वडाध्यक्षमा नेकपा, ११ मा कांग्रेस, ३ मा राजपा, ४ मा समाजवादी र एउटामा स्वतन्त्रले जितेको निर्वाचन आयोगले जनाएको छ।
नेकपाबाट विजयी हुनेमा पाँचथर फिदिम नगरपालिका–१ मा गजाधर भटराई, संखुवासभा खाँदबारी नपा–३ मा भरतकुमार घिमिरे, भोजपुर पौवादुङ्मा गाउँपालिका–१ मा जितेन्द्र राई, खोटाङ साकेला गाउँपालिका–३ मा शिवकला राई हुनुहुन्छ।
सिरहा कल्याणपुर नगरपालिका–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गाउँपालिका–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा केदारनाथ आचार्य, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ मा देवप्रसाद कोइराला विजयी हुनुभएको छ।
नेकपाबाट विजयी हुनुहुने वडाध्यक्षमा लमजुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ ढालप्रसाद शेरचन, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बौदीकाली गापा–५ खिमबहादुर थापा खरु मगर,गुल्मी रुरुक्षेत्र गापा–६ गिरिप्रसाद सिञ्जाली, रोल्पा थवाङ गापा–१ जनकबहादुर बुढामगर रहनुभएको छ।
नेकपाबाटै विजयी हुनुहुनेमा बाँके कोहलपुर नपा–६ रामशरण थारु, सल्यान कुमाख गापा–५ धर्मे बुढाथोकी, बाजुरा त्रिवेणी नपा–१ मा मनराजे बुढा, अछाम मेल्लेख गापा–५ मा रमेशबहादुर खड्का, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक र काठमाडौं दक्षिणकाली नगरपालिका–३ मा शिवभक्त बलामी रहनुभएको छ।
नेपाली कांग्रेसबाट विजयी हुनुहुने वडाध्यक्षमा पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, मोरङ धनपालथान गापा–२ मा नारायणप्रसाद साह, महोत्तरी बलवा नपा–२ मा विपीन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, चितवन खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, चितवन खैरहनी नपा–५ मा प्रतिमा कार्की, अर्घाखाँची मालारानी गापा–३ शोभाखर खनाल, दाङ घोराही उपमनपा–१६ ताराबहादुर डिसी, बैतडी सुर्नया गापा–१ मा गजेन्द्रबहादुर चन्द र बैतडी दोगडाकेदार गापा–४ सुरेन्द्रप्रसाद भट्ट रहनुभएको छ।
राष्ट्रिय जनता पार्टीका तर्फबाट विजयी हुने वडाध्यक्षमा सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव, महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक रहनुभएको छ। समाजवादीको तर्फबाट सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापा–१ सुरेशप्रसाद चौधरी, महोत्तरी बलवा नपा–८ मा रामबाबु महतो र पर्सा सखुवा प्रसौनी गापा–५ मा रुपलालकुमार यादव विजयी हुनुभएको छ। स्वतन्त्र उम्मेदवार प्युठान ऐरावती गापा–२ मा भिमेशकुमार घर्तीमगर विजयी हुनुभएको छ।
प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ, सुनसरी, धरान उपमहानगरपालिका प्रमुख, पाँचथर, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, धरान उपमहानगरपालिका–७, वडामा यो समाचार तयार पार्दासम्म मतगणना जारी रहेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
प्रदेशसभाअन्तर्गत बाग्लुङ २ (ख)मा राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले अग्रता लिनुभएको छ। यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिकामा आइतबार रातिसम्मको मतपरिणामअनुसार नेकपाका वीरबहादुर कुरुम्वाङ कांग्रेसका वृजहाङ आङदम्बे भन्दा २ हजार ७ सय २५ मतले अगाडि रहनुभएको छ। धरान उपमहानगरपालिकाको उपनिर्वाचनको मतगणनामा कांग्रेसका तिलक राईले अग्रता कायम राख्नुभएको छ।