दक्षिण एसियाली खेलकुदको भव्य समुद्घाटन

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को भव्यरूपमा दशरथ रंगशालामा उद्घाटन भएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं सागको उद्घाटन गर्नुभएको हो। योसँगै नेपालमा दुई दशकपछि पुनः एकपटक खेलकुदको उल्लासमय वातावरण हुने भएको छ।

राष्ट्रपति भण्डारीले समारोहको उद्घाटन गर्दै काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता शुभारम्भ भएको घोषणा गर्नुभएको थियो।

सम्बोधनकै क्रममा राष्ट्रपति भण्डारी भन्नुभयो– ‘हामी नेपाल भ्रमण वर्ष २०२० मनाउन गइरहेका छौं। त्यसको पूर्वसन्ध्यामा आयोजित १३औं दक्षिण एसियाली खेलकुदमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु।’राष्ट्रपतिको सम्बोधनपछि मार्चपास शुरू भएको थियो।

  •  काठमाडौं, पोखरा र जनकपुर खेलकुदमय  
  •  समुद्घाटनमा आतिसबाजीदेखि कला र संस्कृतिको विविध प्रयोग 
जसमा सागको मस्कट बोकिएको थियो। मस्कटपछि सागको लोगो लिएर कन्याहरू उभिएका थिए। त्यसपछि ओलम्पिक र सात देशको झन्डा लिएर अंग्रेजी वर्णानुक्रमअनुसार सबैभन्दा पहिले बंगलादेश त्यसपछि भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र नेपालका खेलाडीले मार्चपास गरेका थिए।

मार्चपासपछि ओलम्पियन खेलाडीको ओलम्पिक टर्चलाइटको रिले भएको थियो। सबैभन्दा पहिले जितबहादुर केसीले ओलम्पिक टर्च लिएर रंगशाला प्रवेश गर्नुभयो। उहाँले राजेन्द्र भण्डारीलाई सो टर्च हस्तान्तरण गर्नुभयो। यो क्रम नयना शाक्य, वैकुण्ठ मानन्धर हुँदै दीपक विष्टको हातमा ओलम्पिक टर्च पुग्यो। उहाँले रंगशालामा ओलम्पिक दीप प्रज्वलन गर्नुभएको थियो।

यस्तै भारोत्तोलक कमलबहादुर अधिकारीले नेपालको झन्डा बोक्नुभयो भने खेलाडीका तर्फबाट क्रिकेटर पारस खड्काले शपथ लिनुभएको थियो।करिब ३ घण्टा चलेको उद्घाटन कार्यक्रम निकै आकर्षक बनेको थियो। रंगशालामा ठूला पर्दा राखेर कार्यक्रमलाई अझ आकर्षक बनाइएको थियो।

नेपालको संस्कृति झल्किने झाँकी प्रदर्शन भएको थियो। सशस्त्र र आर्मीका खेलाडीले गरेको देशभक्तिमा आधारित गीतमा गरेको प्रदर्शन पनि निकै आकर्षक थियो। साथै उनीहरूले सातै देशको नक्सा बनाएर त्यहाँको संस्कृतिसँग मिसिएको गानामा प्रदर्शन गरेका थिए।

अन्तिममा पपगायक दीपक वज्राचार्यले गरेको सांगीतिक प्रस्तुतिले जाडो मौसममा दर्शकलाई न्यानो पारेको थियो। उनले आफ्ना लोकप्रिय गीतहरूको धुन बजाउँदा रंगशालामा उपस्थित दर्शक नाच्न उत्साहित भएका थिए। उनको गीतको धुनसँगै मैदानमा लाखे, पुलु किसि तथा देवीदेवताले नाच प्रस्तुत गरेका थिए।

यसअघि नेपालले १९९९ मा दोस्रोपटक साग आयोजना गरेको थियो। तेस्रोपटक साग नेपालले आयोजना गर्छ कि गर्दैन भन्ने दोधारमा रहेको अवस्था थियो। तर यो द्विविधा आइतबार भव्य उद्घाटनले चिरिदिएको छ।
नेपालले फेरि एकपटक सागमा आफ्नो धाक जमाउने अवसर प्राप्त गरेको छ। २० वर्षअघि नेपालले आयोजना गरेको आठौं सागमा ३१ स्वर्ण पदक जितेको थियो। त्यसो त कुल २६ खेल समावेश यो सागमा नेपालले ५० स्वर्ण लक्ष्य लिएको छ।
 तस्वीर ः उजोल डंगोल