एम्बुलेन्स र ट्रक ठोकिँदा ६ को मृत्यु

0
Shares

सरोज यादव,  विराटनगर।
उपचारका क्रममा मृत्यु भएका आफन्तको शव लिएर विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को१च ९३६४ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट गइरहेको ना२ख ९०८२ नम्बरको मालवाहक ट्रक एकआपसमा ठक्कर खाँदा एम्बुलेन्स चालकसहित ६ जनाको ज्यान गएको छ।

उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएकी ८५ वर्षीया शिवमाया राईको शव घर लैजाने क्रममा सुनसरी कोसी गाउँपालिका–७ हरिपुरमा शनिबार रातिसाढे १२ बजे दुर्घटनामा भएको थियो।

दुर्घटनामा परी एम्बुलेन्सभित्र रहेका उदयपुरको त्रियुगा नगरपालिका–१० का एकै परिवारका ५ जना र एम्बुलेन्स चालकको मृत्यु भएको हो।प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० का ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३५ वर्षीय मुकेश राई र ३२ वर्षीय दिनेश राई रहेका छन्।

उनीहरू अस्पतालमा मृत्यु भएकी ८५ वर्षीया शिवमाया राईको शव लिएर गाईघाट जाँदै थिए। तुलबहादुर शिवमायाका छोरा हुन् भने दुर्गाधन र टेकेन्द्र नाति हुन्। एम्बुलेन्स चालक त्रियुगा नगरपालिका–९ का २८ वर्षीय राजेशकुमार दनुवारको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

मध्यरातमा घटना भएका कारण एम्बुलेन्सभित्र च्यापिएका उनीहरूको उद्दार गर्न समेत धेरै समय लागेको थियो। प्रहरीले दुवै सवारीसाधन हुस्सु लागेको बेला तीव्र गतिमा गुड्ने क्रममा ठोक्किएको हुनसक्ने अनुमान गरेको छ। घटनाका कारण त्रियुगा नगरपालिका–१० बोक्से शोकमा डुबेको छ।