सौराहामा हात्तीको खेल

क्रिसमसमा पर्यटक ठेलमठेल

0
Shares

 

फिरोज राजोपाध्याय

चितवन जिल्लामा पर्ने सौराहा विदेशी र स्वदेशी पर्यटकका लागि निकै प्रसिद्ध क्षेत्र हो। यो नेपालकै तेस्रो अत्यधिक लोकप्रिय पर्यटन गन्तव्यमध्ये एक हो। अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष तथा क्रिसमसको मस्ती शुरू हुनुपूर्व सौराहामा पर्यटकको संख्या पातलिएको हुन्छ।

आन्तरिक र बाह्य पर्यटकलाई सौराहामै कसरी भुलाउने भनेर जबाफ खोज्न सौराहाका व्यापारी र होटेल व्यवसायीबीच लामो समय छलफल गरियो। उनीहरूकै पहलमा आजभन्दा १६ वर्षअघिदेखि हात्ती महोत्सव शुरू भएको हो।

क्रिसमसको समय र नयाँ वर्षको बीचमा केही दिन ग्याप छ। यसलाई अफ सिजनसमेत भनिन्छ। त्यसो त क्रिसमस मनाउने पर्यटकको संख्या थोरै थियो त्यतिबेला। क्रिसमस मनाउने आउने पर्यटकलाई सौराहामा नयाँ वर्षसम्म राख्नु नै सौराहाका व्यवसायीको चुनौती थियो। त्यसैले सौराहाका होटेल व्यवसायी र व्यापारीले थप पर्यटक तान्ने योजनाले विस २०६० देखि हात्ती महोत्सव शुरू गरेका थिए।

अहिलेसम्म गर्दा हात्ती महोत्सव १६औं संस्करणसम्म पुगिसकेको छ।अहिले सौराहाको हात्ती महोत्सव भनेर देश–विदेशमा निकै चर्चित भइसकेको छ। पर्यटकका लागि सौराहामा हात्ती नै मुख्य आकर्षण हुने नै गर्छ। त्यसैले पनि हात्तीलाई नै आधार मानेर यो महोत्सवको जन्म भएको हो।

हात्ती महोत्सवमा हात्ती दौड, हात्तीको सौन्दर्य प्रदर्शन तथा छावाहरूको फुटबल खेल हुने गर्छ। यी तीनै विधाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षक गरिरहेका छन्।डिसेम्बर २५ तारिख, क्रिसमस चाडको ठ्याक्कै एकदिनपछि सौराहामा हात्ती महोत्सव शुरू हुन्छ। यो महोत्सव पाँच दिनसम्म चल्ने गर्छ।

सौराहाका होटेल व्यवसाय र संस्कृतिका अगुवाइको नेतृत्वमा यस समयमा पर्यटक भित्रयाउने लक्ष्य लिएर नै उक्त महोत्सवको विकास भएको हो। हात्ती महोत्सव पाँच दिन गरेपछि त्यहाँ आउने पर्यटकहरू विदेशी होऊन् या स्वदेशी अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष मनाएर नै घर फर्कने गर्छन्। अर्थात् पर्यटकले सौराहामा करिब एक हप्ता बिताउनै पर्ने हुन्छ।

एक साताको उक्त महोत्सवमा रमाउन नै आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने गर्छ। यसको परिणाम सौराहाका होटेलहरू भरिने गर्छन्। त्यस्तै सौराहामा छुट्टी मनाउन आउने पर्यटकका लागि हात्ती दौड हेर्ने पनि पाइने हुन्छ। हात्ती दौडमा ६ प्रतिस्पर्धीसहित सीधै ३ सय मिटरको हुने गर्छ।

साथ साथै डुंगा दौड, घोडाको टाँगा दौड, बयलगाडा दौड पनि हुने गर्छ। २०६८ सालमा भएको आठौं संस्करणदेखि मान्छेको पनि दौड शुरू भएको थियो।सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने यी आकर्षक खेलबाट पर्यटकलाई मोहित नै तुल्याउँछ।

हात्ती महोत्सवको प्रमुख आकर्र्षण भनेको हात्तीका छावाहरूबीच हुने फुटबल हो। छावाहरूको एक एक टोली बनाएर मान्छेले फुटबल खेल्ने जस्तै छावाहरूले खेल्छन्। बल हान्दाभन्दा पनि गोल हान्दाचाहिँ दर्शकदीर्घाबाट निकै ताली बज्ने गर्छ। तालीको गुनगुनाहट सुनेर कतिपय छावा त नाच्न पनि थाल्छन्। सुँड उठाएर दर्शकदीर्घातिर अभिनन्दनसमेत गर्ने गर्छन्।

यो छावाको फुटबल नेपालमै मात्रै आयोजना हुने हुँदा उक्त समयमा सौराहामा आन्तरिक पर्यटकको समेत घुइँचो लाग्छ। सौराहाको क्षेत्रीय होटल संघ नेपालको अनुसार त्यो समयमा आन्तरिक र बाह्य गरी पर्यटकको संख्या करिब करिब लाखौं पुग्ने गरेको छ।

अरू समयमा भन्दा डिसेम्बरमा यतिका पर्यटक संख्या बढ्नुको मुख्य कारण भनेको हात्ती महोत्सव नै हो। सो महोत्सवमा हात्तीलाई सिँगारिएर पनि होडबाजी गरिन्छ। सौन्दर्य प्रतियोािगतामा को कति राम्री भएको भनेर मूल्यांकन पनि गरिन्छ। यसबाहेक सौराहामा आउने पर्यटकले हात्तीको सुँडबाट स्नान गर्ने (इलेफेन्ट बाथ) अवसर पनि पाउँछन्।

हात्ती महोत्सवले फरक खाले खेलकुदको स्वाद पस्केको मात्रै नभई आन्तरिक पर्यटकलाई पनि राम्रो बल पुगेको छ। पुस माघको जाडो छल्न पनि आन्तरिक पर्यटक सौराहा पुग्ने गर्दछन्।

सौराहाको क्षेत्रीय होटल संघ नेपालले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले चितवन तथा सौराहामा भरिएका पाहुनालाई निकै मनोरञ्जन प्रदान दिएको दावी गरेको छ।