१३औं साग आज भव्यरूपमा उद्घाटन हुँदै

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को आज भव्यरूपमा उद्घाटन गर्न नेपाल तयार भइसकेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अभ्यासले यसको आभास दिएको हो। नेपालको संस्कृति देखिने विभिन्न झाँकी, मार्चपास्टको अभ्यास भएको थियो। रंगशालामा चारैतिरबाट दिएको फ्लड लाइट (प्रकाश) मा हरियो मैदान रहेको रंगशाला अझै आकर्षित देखिएको थियो।

चारैतिर प्याराफिटमा राखिएको विभिन्न रंगको सिटले समेत रंगशालालाई अझ आकर्षक बनाएको थियो। आज भने यही भरिभराउ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले सागको उद्घाटन गर्दै हुनुहुन्छ।

१३औं सागका लागि नेपाल सरकारले झन्डै ५ अर्ब भन्दा बढी रकम अनुदान दिएको थियो। पूर्वाधारको लागि १ अर्ब ६२ करोड तथा साग आयोजना गर्न ३ अर्ब ६५ करोड रुपियाँ छुट्टयाएको थियो।

सागको उद्घाटनमा नेपालको मार्च पासमा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले नेपालको झन्डा बोक्नुहुनेछ। त्यस्तै तेक्वान्दो खेलाडी आयशा शाक्यले नेपाली खेलाडीको तर्फबाट सपथ लिनुहुनेछ।नेपालले साग तेस्रो पटक आयोजना गर्न लागेको हो।

यसअघि सन् १९८४ र १९९९ मा नेपालले आयोजना गरेको थियो। १९९९ को सागमो नेपालले ऐतिहासिक सफलता हात पारेको थियो। सो आठौं संस्करणमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो। जुन नेपालको सागमा अहिलेसम्मकै उत्कृष्ट संस्करण साबित भएको छ।आफ्नै घरेलु मैदानमा हुने भएकोले नेपालले ३१ स्वर्णको कीर्तिमान तोड्न सक्ने अवसर पनि छ।

यसै पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले ५० स्वर्ण जित्ने दाबीसमेत गर्नुभएको छ। उहाँको दाबी कतिको सत्य साबित हुने त्यो प्रतियोगिता शुरू भएपछि थाहा हुनेछ।

तर उहाँको दाबीलाई साबित गर्न नेपाली खेलाडीले कडा मेहनतका साथ खेल्नु आवश्यक छ।सदस्यसचिव सिलवालले मार्सल आर्टस्को आधारमा यति संख्याको स्वर्णको आशा गर्नुभएको हो। उहाँले भन्नुभयो— हामीले १३औं सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएका छौं।

यदि तेक्वान्दो, कराँते र अरु व्यक्तिगत खेलमा योजनारुपमा सफल भयौं भने पक्कै पनि हामीले ५० भन्दा बढी स्वर्ण जित्न सक्नेछौं।यस पटक १३औं सागमा नेपालले २६ खेलको आयोजना गर्दैछ। दक्षिण एसियाका सबै ७ राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका गरी करिब ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा आयोजक नेपालको तर्फबाट सबैभन्दा बढी ५ सय ९९ खेलाडीले खेल्दैछन्।

दोस्रोमा श्रीलंकाबाट ५ सय ५६ खेलाडी रहेका छन्। त्यस्तै भारतबाट ५ सय ३५, बंगलादेशबाट ४ सय ७८, पाकिस्तानबाट ३ सय ७८, माल्दिभ्सबाट २ सय ५२ का खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। भुटानबाट भने सबैभन्दा कम १ सय १७ जना खेलाडीले सहभागी जनाउँदैछन्।

सुरक्षा चुस्त हुने

१३औं सागमा अप्रिय घटना नहोस् भनेर नेपाल सरकारले सुरक्षा व्यवस्था चुस्त गरिने वाचा गरेको छ। सागका लागि करिब १८ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। जसमा नेपाल प्रहरी १० हजार, सशस्त्र प्रहरी बल (एपीएफ) ५ हजार र नेपाली सेनाबाट ३ हजार तैनाथ हुनेछन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्नुभएको छ। साग सुरक्षा कमिटीका संयोजक खनालले भन्नुभयोे– ‘सागमा अवाञ्छनीय गतिविधि हुन दिने छैनौं।

सागलाई सुरक्षितरूपमा अवतरण गर्न भीभीआईपी, भीआईपी, अतिथि, खेलाडी, पदाधिकारी, रेफ्री, मिडिया र दर्शकको सुरक्षा व्यवस्थामा रतीभर कमी हुने छैन। विदेशी पाहुनाको लागि सुरक्षा अझ चुस्त गरिनेछ।

सम्भावित हुलदंगाका लागि होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ। पाहुनालाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरूले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ।

ट्राफिक व्यवस्थापन

सागमा काठमाडौंका सडकमा हुने जामलाई व्यवस्थापन गर्न चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन विभिन्न उपाय अपनाइने भएको छ। सागको समयमा ठूला मालबाहक सवारी साधन रिङरोडभित्र प्रवेश नगर्न अनुरोध गरिनेछ। दशरथ रंगशाला वरिपरिका सवारी मार्गमा उकतर्फी लागू गरिनेछ।

उद्घाटन दिन रिङरोडभित्र बिजोर र समापनमा जोर नम्बरका सवारी साधनमात्र चलाउन पाउने नियम लागू गरिनेछ। दर्शकका लागि पार्किङ स्थल टुँडिखेलमा तोकिएको छ। सो स्थानमा पार्किङ गर्न काठमाडौं मल अगाडिको ढोका प्रयोग हुनेछ। रंगशालाभित्र भीभीआईपीको पार्किङ हुनेछ।

टिकट

राष्ट्रिय खेलकुद परिषद्ले सागमा हुने खेलका लागि ई–सेवासँग सहकार्य गरेको छ। ई–सेवाले अहिले फुटबल, बास्केटल र भलिबलका टिकट अनलाइनमार्फत् बिक्री शुरू गरिरकेको छ। दशरथ रंगशलामा हुने समूह चरणका फुटबल खेल हेर्न साधारण पारापिटमा ५ सय र भीआईपी पारापिटमा १ हजार रुपियाँको तोकिएको छ।

यसैगरी क्रिकेटको टिकट बिक्रीको अधिकार भने नेपालसँग छ। क्रिकेटमा नेपालको खेल हुँदा ५ सय र अन्य देशबीच खेल हुँदा २ सय रुपियाँ टिकट मूल्य तोकिएको छ।

खेल र खेलस्थल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुष फुटबल, ट्रयाक एन्ड फिल्ड, रंगशालास्थित कभर्ड हलमा भलिबल र बास्केटबल, साइक्लिङ जगडोलमा र गल्फ गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछन्। यसैगरी टेबलटेनिस लैनचोरको टेबलटेनिस हलमा हुनेछन्।

त्यस्तै पुरुष क्रिकेट, खो खो, कबड्डी र फेन्सिङ कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन्।यस्तै ललितपुरस्थित सातदोबाटोमा कराँते, जुडो, बक्सिङ, पौडी, तेक्वान्दो, स्क्वास, सुटिङ, उसु र टेनिस सञ्चालन गरिनेछ।

पोखरामा महिला क्रिकेट, महिला फुटबल, ब्याडमिन्टन, आर्चरी, ह्यान्डबल, ट्रायथलन, बीच भलिबल र भारोत्तोलन खेल आयोजना गरिनेछ। त्यस्तै जनकपुरमा एउटै खेल कुस्ती मात्र हुनेछ। एसियन गेम्समा रजत पदक प्राप्त गरेको पाराग्लाइडिङ भने अन्तिममा प्रतियोगिताबाट हटाइएको थियो।