प्रदेश ५ ले वर्षभरि नै कार्यक्रम गर्ने

0
Shares

यमलाल भुसाल, बुटवल।

नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षका रूपमा मनाउने गरी गरेको घोषणालाई साकार बनाउन प्रदेश पाँचको सरकारले विशेष प्राथमिकता दिँदै वर्षभरि कार्यक्रम गर्ने तयारी गरेको छ।नेपाल भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बुटवलमा सचिवालय स्थापना गरी काम शुरू गरिएको छ। प्रदेश सरकारले यस वर्षको नेपाल भ्रमण वर्षलाई बर्दिया जिल्लालाई बढी फोकस गरी घुम्न जाऊँ बर्दिया नारा नै तय गरेको छ।

घुम्न जाऊँ बर्दिया विशेष प्याकेजमा पर्यापर्यटन जंगल सफारी (हात्ती, बाघ र कृष्णसार), सांस्कृतिक कार्यक्रम होमस्टे व्यवस्थापन, कर्णालीमा र्याफ्टिङलगायतलाई फोकस गरिएको छ। प्रदेश ५ सरकारले बर्दियाको ठाकुरद्वारामै भिजिट नेपालको विशेष समारोहका बीच शुभारम्भ गर्ने गरी निर्णयसमेत गरिसकेको छ।

भिजिट नेपाललाई मध्यनजर गरी प्रदेशका विशेष क्षेत्र लुम्बिनी तिलौराकोट, पाल्पाको रानीमहलर रानीमहल दरबारमा राणाकालीन ऐतिहासिक सामग्री राख्ने, प्यूठानको स्वर्गद्वारीमा १ लाख भक्तजनलाई महाअभिषेक गर्ने, पोखरा आउने पर्यटकलाई बुर्तिवाङ ढोरपाटन हुँदै रुकुमको सिस्ने हिमालसम्मको प्याकेज टुर बनाएर पर्यटकलाई घुमाउने कार्यक्रम तयार गरिएको छ।

त्यसै गरी लुम्बिनीदेखि ढोरपाटन हुँदै अपर मुस्ताङसम्म पर्यटकलाई पुराउने योजना प्रदेश सरकारले जनाएको छ।बाँकेको राष्ट्रिय निकुञ्जमा जंगल सफारी, बुटवलको जितगढीदेखि नुवाकोटसम्म म्याराथुन, बुटवलमा खाना महोत्वसव, प्रदेशका पत्रकारलाई दुईवटा पर्यटनसम्बन्धी तालिम, रोल्पामा पर्यटन पत्रकारिता बैठक गर्ने गरी कार्यक्रम तय गरिएको छ।

त्यसै गरी लुम्बिनीमा बौद्ध विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको बौद्ध साहित्य सम्मेलन गरी बौद्ध दर्शनका बारेमा जानकारी गराउने र विश्वका बौद्ध धर्मावलम्बीलाई लुम्बिनी ल्याउन पहल गर्ने पनि कार्यक्रमा समावेश गरिएको छ।

पर्यटन प्रवद्र्धनमार्फत मुलुकमा समृद्धि हासिल गर्न टेवा पुर्याउने, प्रदेशमा रहेका धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुराताविक एवं ऐतिहासिक महवका स्थानहरूको पहिचान, संरक्षण सम्वद्र्धन तथा व्यवथापनमा टेवा पुर्याउने, लुम्बिनी क्षेत्रमा पर्यटकक ो बसाइ लम्ब्याउने, लुम्बिनीलाई बुद्धको जन्मस्थल तथा बौद्ध दर्शनको उद्गमस्थलका रूपमा प्रचारप्रसार गर्ने गरी प्रदेश पाँचको राजधानी बुटवलमा सचिवालय स्थापना गरिएको नेपाल भ्रमण वर्ष २०२० को प्रदेश पाँचका सहसंयोजक माधव नेपालले बताउनुभयो।

सरकारले भिजिट नेपाललाई साकार बनाउन मुलुकभरका १ सय गन्तव्य स्थानलाई छनोट गरेकोमा प्रदेश पाँचमा नवलपरासीको वाल्मीकि आश्रम, रामग्राम रूपन्देहीको लुम्बिनी ग्लोबल पिस पार्क, बाउन्नकोटी वन, शंकरनगरको वनवाटिका, सैनामैनाको पर्यटकीय क्षेत्र, कपिलवस्तुको निग्लिहवा, मायादेवी, तिलौराकोट, जगदीशपुर ताल, सागरताल, पाल्पाको तानसेन, रानीमहल, श्रीनगरडाँडा, रम्वादेवी मन्दिर, अर्घाखाँचीको सुपादेउराली, पाणिनी तपोभूमि, गुल्मीको सत्यवती टुरिजम एन्ड रेलिजियस सेन्टर, रूरू क्षेत्र, रुकुम पूर्वको गुरिल्ला टेरेल, ढोरपाटन, माइकोट, फोक्सुन्डो टेरेल, रोल्पाको जलजला, प्यूठानको स्वर्गद्वारी, रकगार्डेन, झिमरुक, ओखरकोट पहाड, दाङको बगरबाबा रिलिजियस टुरिस्ट स्पोर्ट, बाँकेको वागेश्वरी मन्दिर, बाँकेको राष्ट्रिय निकुञ्ज र बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्ज, डाला होमस्टे, कृष्णसार संरक्षण क्षेत्र, ओमकेदारेश्वर धाम, शिवमन्दिर क्षेत्र छनोटमा परेका छन्।

त्यसै गरी प्रदेश पाँचको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशित गरेको लुम्बिनी भिजिटर्स गाइडमा प्रदेशका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चीनाएको छ। उक्त गाइडमा पर्यटकीय गन्तव्यको विस्तृत विश्लेषण, महवपूर्ण हुनुको कारण तथा विशेषतालाई समेत उजागर गरिएको छ।

गाइडमा लुम्बिनी, तिलौराकोट, कुदान, निग्लिहवा, गोटीहवा, जगदीशपुर ताल, देवदह, रामग्राम स्तुप, त्रिवेणीघाट, जितगढी किल्ला, मणिमुकुन्दसेन उद्यान, सिद्धबाबा, नुवाकोट गढी पर्रोहा धाम हिलपार्क, मुक्तिनाथ धाम, शंकनगर वनविहार, रानीकुवा सेनामैना, भैरवस्थान, रानीमहल रूरू क्षेत्र रिडी, रेसुंगा, सुपादेउराली पाणिनी तपोभूमि, स्वर्गद्वारी, दाङको धारापानी धाम, पुरन्धारा बराह क्षेत्र, रिहार, सिस्ने हिमाल, जलजला, थवाङ, वागेश्वरी मन्दिर नेपालगन्ज, बाँके राष्ट्रिय निकुञ्ज, गाभर भ्याली होमस्टे, कर्णाली पुल चिसापानी, ठाकुरबाबा बर्दिया, कृष्णसार संरक्षण क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज र ढोरपाटन सिकार आरक्षलाई समावेश गरिएको छ।

प्रदेश सरकारले पर्यटनमन्त्री लीला गिरीको अध्यक्षतामा २१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ। त्यसै गरी प्रदेशका १२ वटै जिल्लामा जिल्लास्तरीय समिति गठन गरिसकिएको छ। प्रदेशका मुख्यमन्त्रीलाई संरक्षक राखिएको छ। प्रदेशका १ सय ९ वटा स्थानीय तहमा पनि समिति गठन गरी पर्यटकीय प्याकेज बनाएर काम अगाडि बढाउने गरी तयारी गरिएको भिजिट नेपाल २०२० को प्रदेश पाँचको सचिवालयका प्रमुख गणेश घिमिरेले बताउनुभयो।