‘मन्त्रालय परिवर्तन हुँदैमा सरकार छाड्दैनौं’

0
Shares

काठमाडौं, (नेस)।

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मन्त्रालय परिवर्तन हुँदैमा सरकार छाड्नुपर्ने अवस्था नदेखिएको बताउनुभएको छ।आफ्नो निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले पार्टीको भागमा परेको स्वास्थ्य मन्त्रालय खोसेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय दिँदैमा खासै फरक नभएको पनि बताउनुभयो।

‘आकर्षक मन्त्रालय पाउँदैमा सरकारमा बस्ने, नीतिगत मन्त्रालय पाए सरकार छाड्ने भन्ने कुरा आफैंमा युक्तिसंगत छैन। तर मन्त्रालय हेरफेर गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दललाई जस्तो व्यवहार गर्नुभयो, त्यो भने सहकार्यको भावनाविपरीत हो। यस विषयमा प्रधानमन्त्री ओली स्वस्थ हुनुभएपछि कुराकानी गर्नेछौं’ –सहअध्यक्ष श्रेष्ठले भन्नुभयो।

आफ्नो पार्टी संविधान संशोधन गर्ने सर्तमा मात्र सरकारमा गएको बताउँदै उहाँले संविधान संशोधन हुने अवस्था लगभग क्षीण भएमा मात्र पार्टी सरकारबाट बाहिर पनि स्पष्ट पार्नुभयो। ‘तर तत्काल सरकारबाट पार्टी बाहिरिने छैन। संविधान संशोधनका विषयमा प्रधानमन्त्रीसँग गम्भीर रुपमा कुरा राख्नेछौं’ –उहाँले भन्नुभयो।

हाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष एवं उपप्रधानमन्त्री यादवबीच प्रधानमन्त्री ओलीको कार्यशैली र संविधान संशोधनबारे गम्भीर रूपमा छलफल भइरहेको पनि श्रेष्ठले बताउनुभयो।

उहाँले राज्यसत्तामा सबैको पहुँच, प्रतिनिधित्व, पहिचानका लागि संविधान संशोधन गरेर ११ प्रदेश बनाउनुपर्ने पार्टीको अडान यथावत् रहेको पनि बताउनुभयो। अहिले संघीयताका नाउँमा एकात्मक शासन लागू गर्न खोजेर संघीयतालाई अफाससिद्ध बनाउन षड्यन्त्र भइरहेको बताउँदै उहाँले भन्नुभयो– ‘संघीयता समाप्त पार्नु भनेको संविधान नै धरापमा पार्ने हो।’