सन्दर्भ ३२औं विश्व एड्स दिवस : काठमाडौंमा एचआईभी संक्रमितको संख्या बढी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

छोटो समयमा विश्वमा नै तीव्र रूप लिएको ३२औं विश्व एड्स दिवस डिसेम्बर १ मा ‘एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ मनाइँदै छ। विश्वमा नै जनचेतना र एआरभी औषधिको प्रयोगका कारण एचआईभी संक्रमणमा कमी आएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शनिबार टेकुमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो।

केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपाल सरकारले अहिले ४९ जिल्लामा एचआईभी संक्रमितलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट सुविधा दिन शुरु गरेको बताउनुभयो। उहाँले भन्नभयो– ‘औषधि सरकारले निःशुल्क दिन्छ समुदायले एचआईभी संक्रमितलाई हेयको दृष्टिले हेर्ने नभई त्यस्ता व्यक्तिलाई स्थापित गर्ने दायित्व समुदायको हो।

एचआईभी संक्रमण पनि उपचार गरे नियन्त्रणमा राख्न सकिने सुगर, प्रेसरजस्तै रोग हो र अकाल मृत्यु टर्छ।’ एचआईभी संक्रमितलाई लाञ्छना र विभेद हटाउन सके मात्र औषधिले काम गर्छ। विश्वले नै एचआईभी संक्रमितका लागि सजिलो र भरपर्दो औषधि पत्ता लगाइसकेको अवस्थामा नेपालीहरूले संकुचित भावनाले बिरामीलाई नहेर्नसमेत डा. भट्टचनले आग्रह गर्नुभयो।

उहाँले एआरभी औषधि खाएकाबाट एचआईभी संक्रमण नहुने र यो औषधिको प्रभावकारित ९१ प्रतिशत रहेको बताउनुभयो। सन् २०१८ सम्म विश्वमा ३ करोड ७९ लाख व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा २९ हजार ९ सय ४४ जनामा एचआईभी संक्रमण भएको अनुमान गरिएको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ।

जसमा पुरुष १७ हजार ७ सय ३२ र महिला १२ हजार २ सय १२ जना रहेका छन्। नेपालमा झन्डै ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको केन्द्रले जनाएको छ। नेपालको कुल जनसंख्याको १ प्रतिशतभन्दा कममा एचआईभी संक्रमण रहेको छ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोगकर्ता, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू, रोजगारीका लागि बिदेसिनेहरू र जेलका कैदीहरू रहेका छन्।

विश्वको तथ्यांकअनुसार सन् २०१० देखि सन् २०१८ सम्ममा १६ प्रतिशतले नयाँ संक्रमितको दरमा कमी आएको छ। यसमा ४१ प्रतिशतमा बच्चामा हुने संक्रमण दरमा कमी आएको छ।विश्वमा सन् २००४ मा सबैभन्दा बढी एचआईभी संक्रमितको मृत्यु भएको वर्षका रुपमा चिनिन्छ भने सन् २०१८ मा पुग्दा एचआईभी संक्रमितको मृत्युदर ५६ प्रतिशतले घटेको जनाइएको छ।

सन् २०१८ मा विश्वका २ करोड ३३ लाखले एआरभी उपचार पाइरहेका छन्। जसमा सन् २०१९ जुलाईसम्म १७ हजार ९ सय ८७ जना नेपालीले एआरभी उपचारमा रहेका छन्। सन् २०२० सम्म संक्रमितहरूले आफ्नो संक्रमण अवस्थाबारे ९० प्रतिशतले थाहा पाउने, तीमध्ये ९० प्रतिशतलको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनेछ। यसका लागि केन्द्रले प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य, सहयोग र समन्वय गर्दै आइरहेको डा.भट्टले जानकारी गराउनुभयो। 

केन्द्रको तथ्यांकअनुसार एचआईभी संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश नं ३ को काठमाडौंमा छ। प्रदेश नं ३ मा ६ हजार ४ सय ६६ जना एचआईभी संक्रमित रहेकोमा काठमाडौंमा मात्र ३ हजार ३ सय २३ जना रहेका छन्। जसमा पुरुष २ हजार २ सय ४०, महिला १ हजार ८३ र बच्चा १ सय १३ जना रहेका छन्।