प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

एक साता अस्पतालमै बसेर उपचार गर्न चिकित्सकको सल्लाह

0
Shares

भगवती तिमल्सिना, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा तीव्र सुधार आएसँगै आफैंले खाना खाने र हिँडडुल गर्न समेत थाल्नुभएको छ। उहाँको पहिलादेखिकै हतारिने बानी अहिले पनि कायमै छ। उपचारमा संलग्न चिकित्सकहरूले अझै एक साता अस्पताल बसेरै उपचार गर्नुपर्ने सल्लाह दिइरहेका छन् तर उहाँ भने हिजो अस्तिको निर्णय के भो, कसो भो भन्दै बेडमा छटपटाइरहनुभएको स्रोतले बतायो।

नेफ्रोलोजी विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो भएको र फिजिकल तथा बायोकेमिकल मापदण्डहरूमा समेत अनपेक्षित रूपमा सुधार देखिएको छ। उहाँले भन्नुभयो– ‘यही अवस्थामा उहाँको शल्यक्रियाको घाउ पनि निको हुँदै गयो भने यो साताको अन्त्यसम्म डिस्चार्ज गर्न सकिन्छ अहिले नै यसै दिन भन्न सकिन्न।’

डा. शाहका अनुसार प्रधानमन्त्री ओलीलाई समयमै समस्या पहिचान गरी उपचारका लागि अस्पताल पुर्याइ सम्पूर्ण टिमको सहयोगमा यो अवस्थामा आउनुभएको छ। यदि समयमै निर्णय लिने र उपचार गर्ने तालमेल मिलेको थिएन भने जे पनि हुन सक्थ्यो। प्रमको एपेन्डिक्सको शल्यक्रिया मनमोहन कार्डियक थोरासिक एन्ड भास्कुलर सेन्टरमा मंगलबार भएको हो र उहाँ सोही अस्पतालमा उपचार गराइरहनुभएको छ।

उहाँ भन्नुहुन्छ– ‘प्रधानमन्त्री ओलीको प्रत्यारोपित मृगौलाले पहिलाजस्तो काम नगरेकै कारण डायलाइसिस गराइरहेका छांै। डायलाइसिसपछि केही सुधार आएको छ तर पनि शतप्रतिशत भने काम गरिरहेको छैन।

त्यसैले हप्तामा दुईपटक डायलाइसिस गराउँदै आएका छांै। यति बेला आकस्मिक शल्यक्रिया गरिएकाले पनि अलिकति हाइपरक्याटाबोलिजम स्टेज हुन्छ त्यसैले बिरामीलाई स्टेबल राखी कुनै पनि समस्या आउन नदिन चिकित्सकहरू लागिपरेका छौं।’

कतिपय बिरामीलाई शल्यक्रियापछि रक्तश्राव पनि हुने सम्भावना भएका कारण रक्तश्राव नहोस् भनी प्लेटस दिइएको छ। प्लेटलेटले रक्तश्राव हुनलाई रोक्छ। बिरामीलाई जुन बेला जे आवश्यक पर्छ चिकित्सकले सोहीअनुरुप काम गर्छन्। ‘अंग प्रत्यारोपण गरेको बिरामीमा पहिला लक्षण देखिन्न एकैपटक समस्या देखिने हुनाले संक्रमण पनि चाँडो फैलन्छ’ –डा. शाह भन्नुहुन्छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आएको अप्रत्यासित समस्या र चिकित्सकको खुबी र दक्षताले मिनेटमै गरेको निर्णय र कार्यान्वयनका साथै प्रधानमन्त्रीको सहनशीलता र आत्मविश्वासकै कारण अपत्यारिलो भए पनि कल्पनै गर्न नसकिने गरी छोटो समयमै सुधार आएको छ।गत साता सोमबार मध्यरातबाट शुरु भएको पेटको दुखाइ मंगलबार बिहानी हुँदा नहुँदै निकै गम्भीर बनिसकेको थियो।

यति हुँदा पनि प्रधानमन्त्री ओलीले आफ्ना निजी चिकित्सकलाई समेत राति दुःख दिनुहुन्न भन्दै सिटामोल खाएर दुखाइ कम गर्ने प्रयत्न गर्नुले उहाँको आत्मबल बलियो भएको उपचारमा संलग्न चिकित्सकहरूले औंल्याइरहेका छन्। तर उहाँको पेटमा भने संक्रमण फैलिइसकेका कारण समस्या जटिल बन्दै गएको हो।

यति हुँदा पनि अस्पताल जाने विषयमा डा. दिव्याले निकै सम्झाउनुपरेको बताउनुभयो। प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक डा. शाह, उपचारको नेतृत्वकर्ता डा. रमेशसिंह भण्डारी, डा. अरूण सायमी, डा. सुवास आचार्यलगायतले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत जानकारी गराएका थिए।