२६ जनामा स्तन क्यान्सरको आशंका

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

‘नेपाली क्यान्सरको उपचार नेपालमै’ भन्ने उद्देश्यका साथ स्थापित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र सतौन स्मृति ट्रस्ट काठमाडौंको आयोजनामा सप्तरीको सुरुङा नगरपालिका–६ कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र कडरबोनामा एकदिने निशुल्क क्यान्सर परीक्षण शिविरको आयोजना गरिएको छ।

सुरुङा नगरपालिका, नेपाल क्यान्सर सहयोग समूह, उपचारका लागि सहयोगी हातहरू, रोटरी क्लब यल र नेपाल महिला चेम्बरको सहयोगमा आयोजित सो शिविरमा ५ सय २३ जनाको निःशुल्क क्यान्सर परीक्षण गरिएको थियो।

जसमध्ये २ सय ७५ जना महिलाको पाठेघरको मुखको र्याल परीक्षण (प्यापस्मियर टेस्ट) गरिएकोमा त्यसको प्रयोगशाला रिपोर्ट आउन बाँकी रहेको नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले बताउनुभयो। निर्देशक श्रेष्ठका अनुसार मंसिरको अन्तिमसम्म प्याप स्मियर टेस्टको रिपोर्ट आउँछ।

शिविरमा परीक्षण गरिएका ३८ महिलाको स्तन जाँच गर्दा २६ जनामा स्तन क्यान्सरको आशंका गरिएकाले उनीहरूलाई तत्काल स्तन क्यान्सरको परीक्षणका लागि नेपाल क्यान्सर अस्पताल या भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल थप परिक्षणका लागि जान सल्लाह दिइएको थियो।

नियमित उपचारपछि क्यान्सरलाई जितेकी सपना राना मगर, गीता चौधरी र बबिता खड्काले शिविरमा स्नत र पाठेघरको क्यान्सरबारे जनचेतना फैलाउनुका साथै सहभागी महिलाहरूको स्तन परीक्षण गर्न सघाएका थिए। नेपाल क्यान्सर हस्पिटलका २ जना चिकित्सक, ९ जना तालिमप्राप्त वरिष्ठ नर्स तथा स्वास्थ्यकर्मी गरी १९ जनाको टोलीले बिहान ७ देखि साँझ ५ बजेसम्म अनवरतरुपमा शिविर सञ्चालन गरेको थियो।

सतौन स्मृति ट्रस्टका अध्यक्ष तथा सप्तरी क्षेत्र नं ४ का संघीय सांसद तेजुलाल चौधरीले शिविरको उद्घाटन गर्नुभएको थियो भने सुरुङा नगरप्रमुख मुक्ति चौधरीले क्यान्सर उपचारका लागि जनचेतनाको खाँचो रहेको कुरा बताउनुभयो।

मन्तव्यकै क्रममा नेपाल क्यान्सर हस्पिटलका निर्देशक डा. स्वरुपा श्रेष्ठ, सांसद नमिता चौधरी र गीता चौधरीले मन्तव्य व्यक्त गरेका थिए भने डा.अनुषा शर्माले क्यान्सरको लक्षण र उपचार विधिबारे प्रकाश पार्नुभएको थियो।

नेपाल क्यान्सर हस्पिटलकी निर्देशक श्रेष्ठले हस्पिटलले रामेछाप, भैरहवा, मुस्ताङलगायतका ठाउँमा यसअघि निःशुल्क क्यान्सर शिविर सञ्चालन गरी समयमै महिलाहरूमा क्यान्सर भए नभएको पत्ता लगाएर उनीहरूलाई थप उपचारका लागि सहयोग गरेको बताउनुभयो।

विगतमा जस्तो क्यान्सरको उपचार गर्न अहिले कुनै पनि नेपाली क्यान्सर रोगीले भौँतारिन नपर्ने उल्लेख गर्दै उहाँले आर्थिक अवस्था नाजुक भएका २५ जना क्यान्सर रोगीलाई नेपाल क्यान्सर हस्पिटल, उपचारका लागि सहयोगी हातहरू तथा नेपाल क्यान्सर सहयोग समूहको तर्फबाट निःशुल्क उपचार गरिसकेको पनि बताउनुभयो।