क्रियाशील दलित पत्रकार संघद्वारा सदस्यता वितरण अभियान शुरु

0
Shares

काठमाडौं ।

क्रियाशील दलित पत्रकार संघ नेपाल (आड्जोन) देशभर क्रियाशील दलित समुदायका पत्रकारहरुलाई संगठनमा आवद्ध हुन आह्वान गरेको छ । आज काठमाडौंमा आयोजित छलफल कार्यक्रममा संघले १३ जनालाई संस्थापक सदस्यता र अन्यलाई साधारण सदस्यता दिई औपचारिक रुपमा सदस्यता वितरण अभियान सुरु गरेको हो ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष टिकाराम सुनारले पत्रकारितालाई नै आफ्नो आदर्श पेशा बनाएर विभिन्न सञ्चारमाध्यममा कार्यरत समुदायका सबै पत्रकारहरुलाई एकीकृत भएर आवाज उठाउन आग्रह गर्नुभयो ।

उहाँले देशभर दलित समुदायका पत्रकार सयौंको संख्यामा भए पनि हालसम्म संगठित हुन नसकेकोले पत्रकारितालाई मूल पेशा बनाएर क्रियाशीलहरुलाई संगठित गर्न आड्जोनको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रेस संगठन नेपाल केन्द्रीय अनुशासन समितिका सदस्य बिक्रम रत्न (परियार) ले संघमा आवद्ध क्रियाशील पत्रकारहरुको उपस्थितिले देशभरी रहेका साथीहरुमा नयाँ ऊर्जा र हौसला थपिएको बताउँदै यसअभियानलाई सफल बनाउन सबै राजनीतिक दल निकट पेशागत संगठनले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक दल निकट पेशागत संगठनमा सक्रिय दलित समुदायका पत्रकारहरुको यसअभियानमा नैतिक समर्थन आवश्यक रहे पनि नेतृत्वदायी भूमिकामा व्यवसायिक रुपमा स्वतन्त्र व्यक्तिहरुलाई समेट्नुपर्नेमा जोड् दिनुभयो ।

संघका महासचिव केशव भूलले अन्य समुदायका पत्रकारहरु आवद्ध संस्थाले बीसौं वर्षगाँठ मनाइरहँदा दलित समुदायका पत्रकारहरु भने भर्खर जुर्मुराउन थालेको भन्दै यसलाई स्थापित गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

महासचिव भूलले समुदायका सवालमा प्राज्ञिक संवाद र सञ्चार पैरवीका लागि सशक्त संगठन आवश्यक रहेको भन्दै पत्रकारहरुको पेशागत हकहित रक्षा र दक्षता अभिबृद्धिका लागि सबै गोलबद्ध हुनुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा संघका कोषाध्यक्ष विष्णु विश्वकर्मा, सचिव विश्वास खड्काथोकी, सदस्यहरु सन्देश परियार, रमेश टमट्टा, मिलन विक, रुपा सुनारलगाएतले आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमका अन्य सहभागीहरुले दलित समुदायका पत्रकारहरु संगठित हुन निकै ढिला भइसकेको भन्दै राजनीतिक आस्थाभन्दा माथी उठेर संगठन विस्तार र पत्रकारितामा दलित समुदायका पत्रकारहरुको अर्थपूर्ण सहभागीताका लागि पहलकदमी लिन सुझाव दिनुभएको थियो ।

उहाँहरुले अहिलेका युवाहरुको मानसिकता र आवश्यकता सम्बोधन गर्नका लागि समयानुकूल नीति र नेतृत्वमा सचेत रहनुपर्ने धारणा राखेका थिए ।