बाँकेमा बाघ आतंक, सर्तक रहन निकुञ्जको आग्रह

0
Shares

बाँके । गाउँमा बाघले मान्छे खान थालेपछि त्रसित बनेका बाँकेको राप्तीसोनारी गाउँपालिका–८, बालापुरका स्थानीयवासीले सुरक्षित वासस्थानको माग गरेका छन् । बाँके राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयवासीले सुरक्षित वासस्थान माग गरेका हुन् ।

निकुञ्ज क्षेत्रका बासिन्दाले सुरक्षा जोखिम बढ्न थालेको भन्दै सुरक्षित वासस्थानको व्यवस्था गर्नुपर्ने बालापुरका स्थानीयवासी देवबहादुर सिंहले बताउनुभयो । उहाँले बालापुरवासीले त्रसित जीवन बिताउनु परेको भन्दै सुरक्षित आवासको माग गर्नुभयो । ‘‘सुरक्षित बासस्थानका लागि सरकारले पहल गर्नुपर्छ,’’ उहाँले भन्नुभयो ।

निकुञ्ज नजिकैका बस्तीका मानिसमाथि कतिबेला बाघले आक्रमण गर्छ भन्ने चिन्तामा त्रासमा जीवन बिताइरहेको लालसिंह बस्नेतको भनाइ छ । ‘‘हिंस्रक बन्दै गएका वन्यजन्तुका कारण कति दिन बस्तीका मानिस त्रासमा गुजारा गर्ने रु वन्यजन्तुका कारण भौतिक सम्पत्ति र खेतीबाली नोक्सानीको अवस्था पनि निकै दःुखदायी बन्दै गएको छ,’’ बस्नेतले भन्नुभयो ।

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बाँकेमा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीयवासी त्रसित बनेका हुन् । वन्यजन्तुबाट सिर्जित मानव जोखिम, बस्तीका कष्ट र पछौटेपनको समुचित व्यवस्थापनका लागि सरोकारवालाले चासो नदिएको स्थानीयवासीको गुनासो छ । प्रभावित जनताले जनधनको जोखिम बेहोर्नुपरेको छ । अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन् ।

निकुञ्ज क्षेत्रमा बाघ आक्रमणका घटना बढ्दै गएको र मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्न थालेसँगै स्थानीयवासीसँग छलफल गर्न गाउँ पुग्नुभएका बाँके क्षेत्र नं १ का सङ्घीय सांसद महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीले स्थानीयवासीलाई सुरक्षित वासस्थानका उत्तम विकल्प निकाल्न आग्रह गर्नुभयो ।

उहाँहरुले निकुञ्जले तत्काल प्रतिफल दिन नसके पनि भविष्यमा जीविकोपार्जनका लागि बस्ती स्थानान्तरण गर्न चाहेमा त्यसका लागि पहल गर्ने बताउनुभयो । उहाँहरुले मध्यवर्ती क्षेत्रका बासिन्दालाई सर्तक र सजग रहन आग्रह गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न आवश्यक पहल गर्ने बताउनुभयो ।

एक महिनाअघि मात्रै दुई दिनको अन्तरमा बाघको आक्रमणबाट बालापुर र खड्कबारमा दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् । गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँ बस्तीकी ६५ वर्षीया काली बस्नेत र कात्तिक २७ गते राप्तीसोनारी–८ बालापुरकी ६० वर्र्षीया ठगी खड्काको मृत्यु भएको थियो ।

विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सात जनाको मृत्यु भइसकेको छ । बाघको आक्रमण बढेसँगै बाँकेमा मात्र नभई बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ ।

निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभयो । संरक्षित वन क्षेत्र पर्याप्त देखिए पनि वन्यजन्तु बस्तीमा मात्र होइन, शहर पस्न थालेपछि चुनौती देखिएको उहाँको भनाइ छ ।

निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको स्थानीयवासीको गुनासो छ ।

वन्यजन्तुबाट हुने क्षतिबापत सरकारले क्षतिपूर्ति दिने गर्छ । निर्देशिका अनुसार मानव मृत्यु, अङ्गभङ्ग खेतीबाली नोक्सानी र पाल्तु जनावरको क्षतिमा क्षतिपूर्तिको व्यवस्था छ । न्यून रहेको क्षतिपूर्ति व्यवस्थाभन्दा वन्यजन्तु बस्तीमा आउन रोक्नु उत्तम उपाय भए पनि निकुञ्जले बस्ती आसपास तारबार वैकल्पिक व्यवस्था गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव–वन्यजन्तु बढ्न थालेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ । ‘बाघ र अन्य वन्यजन्तु निकुञ्जबाट मानवबस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौती थपिएको छ,’ उहाँले भन्नुभयो,“मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सम्बन्धित निकायले दीर्घकालीन रणनीति बनाएर लाग्नुपर्छ ।”

संरक्षित जनावरको आक्रमणबाट मृत्यु भएका परिवार र अङ्गभङ्ग भई अपाङ्गता भएकालाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउनुपर्छ । बाँके निकुञ्जमा २१ र बर्दिया निकुञ्जमा ८७ वटा पाटेबाघ रहेको सरकारी तथ्याङ्क छ । बाघको सङ्ख्या बढे पनि आहारा कम हुँदा मानवबस्तीमा पुगेर वन्यजन्तुले आक्रमण गर्न थालेको स्थानीयवासीको भनाइ छ ।