बार्सिलोना नकआउट चरणमा

0
Shares

लन्डन, (एजेन्सी)।

जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३–१ ले हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।बुधबार राति घरेलु मैदानमा बार्सिलोनाको जितमा लियोनल मेसी, एन्टोइनो ग्रीजम्यान र लुईस स्वारेजले गोल गरेका हुन्।

योसँगै समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदै टोली ११ अंकसहित अन्तिम १६ मा पुगेको हो। हारपछि पनि डर्टमन्डको नकआउट चरणमा पुग्ने सम्भावना यथावतै छ। डर्टमन्डको ५ खेलबाट ७ अंक रहेको छ।

यस्तै इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब नेपोलीले १–१ बराबरी खेल्दै अंक बाँडेका छन्। एनफिल्डमा घरेलु टोली लिभरपुलले एक गोलले पछि परेको स्थितिमा खेलमा फर्कंदै बराबरीको नतिजा निकालेको हो।

लिभरपुलका डेजान लभरेन तथा नेपोलीका ड्रिस मर्टेन्सले गोल गरे।बराबरीसँगै समूह ‘ई’ मा लिभरपुल ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा स्थानमा यथावत रहेको छ। नेपोली ९ अंकसहित दोस्रो स्थानमा छ।

यही समूहको अर्काे खेलमा साल्जवर्गले जेन्कमाथि ४–१ को सानदार जित निकालेको छ। जितसँगै साल्जवर्गको ५ खेलबाट ७ अंक जोडेर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ। जेन्क १ अंकसहित पुछारमा छ।

त्यसैगरी इटालियन क्लब इन्टर मिलानले चेक रिपब्लिक क्लब स्लाभिया प्राहामाथि ३–१ को सानदार जित निकालेको छ। इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे। प्राहाका थोमस सोसिसले एक गोल फर्काए।

जितसँगै इन्टरले नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ। समूह चरणको अन्तिम खेलमा बार्सिलोनासँग बराबरी वा जित हात पारे या अर्काे खेलमा डर्टमन्डले पनि हार भोगेको अवस्थामा इन्टरले नकआउट चरणमा स्थान बनाउनेछ।