सागले रंगशालामा ल्याएको परिवर्तन

0
Shares

विजय नेपाली, पोखरा।

यतिबेला पोखरा रंगशालामा पूर्वाधार निमार्णको काम निकै तिव्रताको साथ अघि बढेको छ। करिब ५ महिना अघिसम्म खुल्ला मैदानजस्तो देखिने रंगशालाको मुहार एकाएक फेरिदै गएको देखिन्छ।

पोखरा रंगशाला छिर्ने मुख्य गेटबाटभित्र पस्नेबित्तिकै अहिले पोखरा रंगशालाको स्वरूप नै भिन्नै देखिन्छ। पोखरा रंगशालामा यसरी परिवर्तन आउनुको मुख्य कारण बनेको छ १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हो।

पोखरामा सागको चटारो चलिरहँदा पोखरा रंगशालामा पूर्वाधार निमार्णको कामले निकै तिव्रता पाएको छ। सागका लागि पूर्ण रूपमा संरचना निमार्ण नभए पनि पूर्वाधार निमार्ण कार्य भने निकै अघि बढेको छ।

पोखराभित्र रहेको फुटबल मैदान, बास्केटबल मैदान, ब्याडमिन्टन हल , आर्चरी मैदान, शौचालय, खानेपानी, बिजुलीलगायतको पूर्वाधार निमार्ण भएको छ भने बहुउद्देश्यीय कर्भड हल भने लगभग अन्तिम चरणमा पुगेको छ।

अहिले निकै धुल्लाम्मे देखिने अहिले रंगशालामा पुननिमार्णको काम धमाधम भएको देखिन्छ। साग लक्षित खेल संचालन साथै पूर्वाधार निमार्णका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भूकम्पपछि डेढ अर्ब लगानी पोखरा रंगशालामा गरेको छ।

भूकम्पअघि शुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल भूकम्प गएको डेढवर्षपछि मात्रै तयार भएको हो। १५ करोड ५७ लाख रूपियाँ खर्च भएको छ। १४ करोड ३० लाखमा ठेक्का सम्झौता गरिएको थियो। कभर्डहलको सम्पूर्ण काम भने साग अघि मात्र सम्पन्न भएको छ।