नेपाल भारतसँग पराजित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् दोस्रो खेलमा नेपाली महिला भलिबल टोली पराजित भएको छ।बिहीबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको महिला इभेन्टको समूह ए को खेलमा नेपाल भारतसँग सोझो सेटमा हारेको हो।

भारतले २६–२४, २५–१२, २५–१६ को सीधा सेटमा जित दर्ता गर्यो। पहिलो सेटमा २४–२२ को अग्रता जोगाउन नसक्नु नै नेपालको हार भएको थियो। दुई सेट अंकको अवसर गुमाएर नेपालले सेट सुम्पेपछि पछिका सेटमा भारत हावी भएको थियो।

दोस्रो सेटमा नेपालले भारतलाई दरो चुनौती दिन सकेन। भारतले सो सेट सहजै हासिल गर्दै खेलमा २–० सेटको अग्रता बनाएको थियो। तेस्रो सेटमा पनि नेपालले पुनरागमन गर्न नसकेपछि खेल गुमायो। यसअघि नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो।

यसको बावजुद नेपाली टोलीकी कप्तान अरूणा शाहीले सेमिफाइनल पुग्ने आशा भएको बताएकी छिन्। उनले भनिन्–‘हामीले सेमिफाइनलमा पुग्ने आशा लिएका थियांै। पहिलो सेटमा त्यति दबाब भएन तर पछि भयो। हामीलाई जित्छौं भन्ने नै लागेको थियो तर हार्यौं।’

त्यस्तै नेपालका प्रशिक्षक जगदीश भट्टले भारतसँग पहिलो सेट जितेको भए खेल जित्छौ भन्ने लागेको बताएका छन्। भट्टले बताए– ‘हामीले भारतसँग राम्रो गर्ने भनेका थियौं। यदि उनीहरुलाई हामीले पहिलो सेटमा पराजित गरेको भए खेल जित्ने थियौं होला।’

पुरुष टोलीलाई दबाब

१३औं सागअन्तर्गत् पुरुष भलिबलतर्फ भारतले सेमिफाइनलको यात्रा तय गरेको छ। योसँगै नेपाललाई आजको खेलमा दबाब बढेको छ।

पहिलो खेलमा नेपालले बंगलादेशसँग हारेपछि आजको खेलमा भारतलाई हराउनै पर्ने दबाब रहेको हो।

यदि हारेमा नेपालको पुरुष भलिबलतर्फ पदक आशा समाप्त हुनेछ। अंकतालिकामा भारत ३ अंक, बंगलादेश २ अंक र नेपाल १ अंक रहेको छ।