एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत नगद पुरस्कार वितरण

0
Shares

काठमाडौं, (नेस)। 

एनसेल प्रालिले नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो हप्ताका पाँचमध्येका दुई ग्राहकलाई बिहीबार जनही २ लाख रुपियाँ पुरस्कार वितरण गरेको छ। आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ।

यस योजनाअन्तर्गत हरेकयोग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन्। योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकलाई मध्ये बिहीबार दुई ग्राहकले जनही २ लाख नगद पुरस्कार ग्रहण गरेका छन्।

बाँकी विजयी ग्राहकले आवश्यक प्रमाणिकरणको प्रक्रिया पश्चात उनीलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन्।
पहिलो हप्ताका पाँच विजयीमध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफूले पाएको नगद २ लाख पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन्।

त्यसैगरी एनसेल सेन्टर वीरगन्जबाट बाराका मनोजकुमार यादवले पनि २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन्। एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन्।

आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ।

ग्राहकहरुले सय रुपियाँ वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक सय रुपियाँबराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन्। उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपियाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ।

त्यसैगरी ग्राहकले ५ सय रुपियाँ रिचार्ज गरेमा पाँच वटा विषेश कोड प्राप्त हुनेछन्। यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ।