राष्ट्रिय वाणिज्य बैंकको खाता खोल्दा टेलिकमको प्रिपेड सिम निःशुल्क


काठमाडौं, (नेस)। 

राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरूलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क वितरण गरिने भएको छ। बिहीबार नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बैंकका ग्राहकलाई टेलिकमको सिम निःशुल्क वितरण गर्न सम्झौता भएको हो।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो।

सम्झौता समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय बाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताउनुभयो।

उहाँले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गर्नुभयो।
सोही कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोडभन्दा बढी ग्राहक संख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय बाणिज्य बंैकबीच भएको यो सम्झौताले आम सेवाग्राही वित्तीय र प्रविधिगत रूपले निकै लाभान्वित हुने बताउनुभयो।

उहाँले यो सहकार्यबाट दुवै संस्थाले व्यावसायमा समेत ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो। बंैकले मुलुकभर भएका २ सय ३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क रूपमा उपलब्ध गराउने छ। सो सिममा ५० रुपियाँ टक भ्यालुसमेत हुने टेलिकमले जनाएको छ।