करोडौंका १६० कार भन्सारमा अलपत्र

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहको यार्डमा ठूलो संख्यामा महँगा कार तथा भ्यान थन्किएका छन्। आयातकर्ताले नलगेपछि ती कार तथा भ्यान थन्किएका हुन्। हाल बन्दरगाहको यार्डमा इन्धनले चल्ने र विद्युतीय समेत गरी झन्डै १ सय ६० कार र भ्यान रहेका छन् । तीमध्ये झन्डै ४० प्रतिशत विद्युतीय कार रहेका छन्।

बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिलन्सका सीईओ विष्णुकान्त चौधरी लामो समयदेखि कार बन्दरगाहको यार्डमा थन्किँदा तिनलाई व्यवस्थापन गर्न समस्या भइरहेको गुनासो गर्नुभयो। यो बन्दरगाहमा तेस्रो मुलुकबाट आयात हुने कार रेलबाट ढुवानी गरी भारतीय बन्दरगाहबाट ल्याइन्छ ।

महँगा र नाजुक हुने भएकाले कतिपय आयातकर्ताले कार रेलमै ढुवानी गरेर ल्याउन रुचाउँछन् । यसबाहेक नेपालमा विभिन्न मुलुकका दूतावासमा कार्यरत कूटनीतिज्ञहरूले पनि यसै नाकाबाट सुविधाका सवारी साधन ल्याउने गर्छन् ।

उक्त यार्डमा रहेकामध्ये ३० कार १ वर्षभन्दा अगाडिका र बाँकी पनि ४ देखि ६ महिनादेखि थन्किएका छन्। किया, फोर्ड, एमजी, ज्याग्वार, ल्यान्डरोवर, वेस्टर ग्यालेक्सी, टेस्लालगायत ब्रान्डका कार बन्दरगाहको यार्डमा जाँचपासको प्रतीक्षामा छन् ।

एउटै कार ४ देखि ५ करोड मूल्यसम्मको रहेका छन्। आयातकर्ताले समयमा नलगे भन्सार कार्यालयले नियमसम्मत ती सवारी साधनलाई लिलामी प्रकृयामा लगिदिए आफूलाई बन्दरगाह सञ्चालनमा सहज हुने उहाँले भनाइ छ।बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले आफूले पनि आयातकर्तालाई सक्दो समयमै कार लग्न दबाब दिइरहेको जिकिर गर्नुभयो।