‘भाषा, संस्कृति राष्ट्रियताकै आधार’

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।

भाषा, संस्कृति समुदायको पहिचान र राष्ट्रियताकै अ· भएकोले त्यसलाई जोगाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा सम्बद्ध व्यक्तिहरूले जोड दिएका छन्।बौद्ध विहार संघ र क्यापिटल एफएममा सञ्चालन भइरहेको नेपालभाषाको कार्यक्रम संयोजन समूह लाय्कु नेवाः ज्याझवःको टिमले संयुक्त रुपमा पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनीहरूले सो कुरामा जोड दिएका हुन्।

नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित केन्द्रीय समिति र ललितपुर शाखाका कार्यसमितिलाई शुभकामना तथा बधाई दिन सो कार्यक्रम आयोजना गरेको थियो।
सो अवसरमा बज्राचार्य गुरुजूले मंगलास्रत्रोत पाठ गरी, संघका अध्यक्ष नानीकाजी शाक्यले पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित पदाधिकारीहरूलाई खादा ओढाईदिनुभयो।

नेवाः परम्परा अनुसार संघका महिला समूहका सदस्यहरूले नयाँ कार्यसमितिलाई सगुण दिएर कार्यकालको सफलताको कामना गरेका थिए।कार्यक्रममा बौद्ध विहार संघका अध्यक्ष नानीकाजी शाक्यले राज्यको मूलप्रवाहभन्दा बाहिर रहेका धर्म, संस्कृति र समुदायको गतिविधिलाई यथोचित स्थान दिनुपर्ने बताउँदै भाषा, संस्कृति र पहिचानको संरक्षणको लागि सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले नेपाल जस्तो विविधता भएको मुलुकमा सबैको आवाज र भावनालाई मुखरित गर्न सञ्चार क्षेत्र समावेशी हुनुपर्ने र यसका लागि पत्रकार राष्ट्रिय दबूले निरन्तर प्रयास गर्दै आएको बताउनुभयो।

सोही अवसरमा बौद्ध विहार संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न वज्राचार्यले जनताको भावना अनुरूप गुठी विधयेक फिर्ता गराउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै भन्नुभयो ‘सञ्चार क्षेत्रको धर्म संस्कृति संरक्षण, भाषाको संरक्षणको विषयमा सञ्चारमाध्यमबाट आगामी दिनमा यस्तै साथ पाउने विश्वास छ ’

सो कार्यक्रममा बौद्ध विहार संघका पूर्वअध्यक्ष पुष्परत्न शाक्य, अक्षेयश्वर महाविहार संरक्षण समितिका अध्यक्ष राजेश शाक्य, पत्रकार राष्ट्रिय दबू ललितपुरका उपाध्यक्ष प्रशान्त माली र सहसचिव मञ्जु वज्राचार्य र लाय्कु नेवाः ज्याझवःका राजुराजदेव वज्राचार्यलगायतले सञ्चार क्षेत्रको विकास, नेपाल भाषाको पत्रकारिताको व्यावसायिकरण लगायतका विषयमा केन्द्रीत गर्दै आ–आफ्नो भनाई राख्नुभयो।

सोही अवसरमा नाईस टेलिभिजनमा झीगु सः अर्थात् हाम्रो आवाज भन्ने नेपाल भाषाको कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक वरिष्ठ चलचित्र पत्रकार विजयरत्न अशंबरेले घोषणा गर्नुभयो। कार्यक्रममा सो टेलिभिजनका अध्यक्ष आशिर्वाद पुनमगरले टेलिभिजनमा नेपालका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।