ट्राभल्सका प्रेसिडेन्टको व्यावहारिक विद्यावारिधि



कमल ढकाल

बाटो थाहा नपाई पनि यात्रा गर्छ पहाडबाट निक्लेको खोलाले। समुद्र कहाँ पर्छ उसलाई थाहै हुँदैन। मुहानमा भएको सानो खोला समुद्रमा पुग्ने बेलामा विशाल बन्छ। सानो जन्मिएको मान्छे पनि मर्ने बेलासम्म विशाल बन्छ। जीवन खोला हो भनेर त्यसै भनिएको होला।

‘वन इनेमी बराबर हन्ड्रेड फ्रेन्ड्स’ भन्ने भोलाले ट्राभल्सको दुनियामा शैक्षिक हैन व्यावहारिक विद्यावारिधि गरिसके। ३७ वर्ष एकै काममा लाग्नु र त्यसको हन्डर ठक्कर व्यहोर्नु भनेको धेरै विषयमा विद्यावारिधि गरेसरह नै हो। उनी भन्छन्– ‘हस्पिटालिटी व्यापार हो ट्राभल्स, सर्भिस सेल गर्ने हो, मेहनत र लगनशीलले मज्जाले प्रगति गर्छ।’

कति यात्रा थाहै नपाई, योजनाबिना हिँड्नुपर्ने हुन्छ खोलाजस्तै। खोला बन्न गाह्रो छ । खहरे, ढल, नल र फोहोर, अमृत सबै मिसाउँदै बगेको खोला जस्तै मान्छेको जीवनमा पनि कति त्यस्ता मान्छे भेटिन्छन्। सबलाई समेट्दै जीवन अगाडि बढ्छ।

खोलाबाटै हो बिजुली निक्लने। मान्छेले पनि आफ्नो जीवनबाट आफ्नै बिजुली निकाल्छ। अध्यात्म, विज्ञान, शिक्षा, स्वास्थ्य, राजनीति, साहित्य, संगीत वा उद्योग, व्यापार जे–केहीमा पनि मान्छे देखिने बत्ती बन्छ। यहाँ ट्राभल्सको क्षेत्रमा देखिने बत्तीको कुरा गर्न खोजेको।

दरबारमार्ग व्यापारका लागि बगैंचा हो। जहाँ बसेका सानादेखि ठूलासम्मले मज्जाले पैसा गन्छन्। त्यही दरबारमार्गको अन्नपूर्ण होटेलको ठीक अगाडि हेर्दा देखिन्छ एक अफिस। त्यहीं छन् चर्चित ट्राभल्स एजेन्सीका मालिक भोलाविक्रम थापा।

व्यापारले उनलाई उत्साह थपेको छ। उत्साहले उमंग बोलाउँछ। उमंगले विकास। जस्तासुकै परिस्थितिमा उत्साहित हुन जानेका कारण भोला माथि मात्र आए। तल जान परेन।

सेन्ट जेभियर्स गोदावरीमा पढेका भोला पढाइमा धेरैपटक फेल भए। बाबु खड्गविक्रम न्यायाधीश हुनुहुन्थ्यो। खासै काम गर्न पर्दैनथ्यो। जीवन ठीकठाक चलिरहेको थियो। मान्छेको जिन्दगीमा एकाएक नयाँ र डरलाग्दो घुम्ती आउँछ। कसलाई थाहा हुन्छ र त्यो कुरा। त्यही घुम्ती भोलाकोमा पनि आयो।

२१ वर्षको उमेरमा आशासँग बिहे गरेपछि भोलाको जीवनमा वास्तविक परिवर्तन आयो। लभ म्यारिजमा भाँजो आएपछि उनले सुका नलिई घर छाड्न पर्यो। श्रीमती आशालाई च्यापेर आशाको राजमार्गमा विश्वास लिएर हिँडे उनी। उनका ससुराली पनि एकदम धनाढ्य थिए। घर र ससुरालीका लागि पनि केही गरेर देखाउनुपर्ने समय थियो त्यो। न पैसा छ न राम्रो काम जानेका छन्।

समस्याको गाँठो फुकाउन जागिरी गरे। जे पायो छिरिहाल्नुपर्ने त्यो समयमा उनी गोरखा ट्राभल्समा प्रतिमहिना २ सय ५० मा काम गरे। अन्नपूर्ण ट्राभल्स हँुदै एभरेस्ट ट्राभल्सलगायत चारवटा ट्राभल्समा काम गरे। सेन्ट जेभियर्सका कारण उनलाई नेपाली त्यति आउँदैनथ्यो। लेखपढभन्दा गफमा आधारित व्यापार हो ट्राभल्स।

घुम्न पाइने, नयाँ मान्छे भेट हुने, विभिन्न देशको इतिहास, संस्कृति थाहा हुने। गाह्रो काम नहुने यसका आकर्षण हुन्। कुनै पनि चिजलाई सकारात्मक ढंगमा हेर्दै जाँदा त्यसले नै आकर्षण गर्दै लैजान्छ। विस्तारै यसमै खिचियो उनको ध्यान। आफूसँग जे छ त्यसलाई सुन बनाउनुपर्छ।

जानेको काम यही भएकाले उनी अर्जुन दृष्टिले यसमै लागे। सधैं अर्कालाई कति मालिक बनाउने आफैं मालिक बन्छु भनेर आजभन्दा ३७ वर्ष अगाडि प्रेसिडेन्ट ट्राभल्स लिए।सुखदुःख प्रेसिडेन्टबाटै पाए। जम्मा पाँच जना कर्मचारीबाट खोलिएको कम्पनीमा आज १ सय ६० जना छन्।

अहिले पनि चार÷पाँच जना कर्मचारी २० वर्षदेखि उनीसँगै काम गरिरहेका छन्। हिजो सँगै काम गर्ने तीन पार्टनरले उहिल्यै छाडिसके। १३ हजार दिनभन्दा बढी रातबिहान गरेर घोटिँदा उनले प्रेसिडेन्टलाई उनको कल्पवृक्ष बनाएका छन्। त्यसबाट उनले जे चाह्यो त्यही झिक्न सक्ने भएका छन्।

ग्रिनलाइन ट्राभल्सबाट पोखरा–चितवन बस सेवा। सिटिजन्स बैंक, रियल स्टेटमा लगानी। हाइड्रोपावरको प्रमोटर अरू थुप्रै व्यापार। सबै यही प्रेसिडेन्टका देन हुन्।
फेसनमा सचेत उनले व्यापारिक फेसनमा चलेको मर्सिडिज गाडीलगायतका ब्रान्डेड गाडी किनेका छन्। प्रायः टाईसुटमा भेटिने उनी स्वास्थ्यमा ख्याल गरेकै कारण उमेरमा १०/१२ वर्ष कान्छा देखिन्छन्।

काममा १० वर्ष जेठा र उमेरमा १० वर्ष कान्छा देखिने भोलालाई साथीभाइले कति काम गर्न पर्ने भन्छन्। उनी कामबाट कहिल्यै रिटायर्ड हुन चाहँदैनन्।
‘वन इनेमी बराबर हन्ड्रेड फ्रेन्ड्स’ भन्ने भोलाले ट्राभल्सको दुनियाँमा शैक्षिक हैन व्यावहारिक विद्यावारिधि गरिसके।

३७ वर्ष एकै काममा लाग्नु र त्यसको हन्डर ठक्कर बेहोर्नुभनेको धेरै विषयमा विद्यावारिधि गरेसरह नै हो। उनी भन्छन्– ‘हस्पिटालिटी व्यापार हो ट्राभल्स, सर्भिस सेल गर्ने हो, मेहनत र लगनशीलले मज्जाले प्रगति गर्छ।’

‘मोर मनी निड मोर बिजनेस’ व्यापारको स्वभाव नै त्यही हो। ट्राभल्स एजेन्सीमा आउने नयाँ मान्छेलाई उनको सुझाव छ। टिकट काट्ने ट्राभल्सलाई कम्तीमा अहिलेको प्रतिस्पर्धामा टिक्न ५० लाख चाहिन्छ।

उधारो टिकट लिने नगद एयरलाइन्सलाई दिने काम पर्छ टिकेटिङमा। एयरलाइन्सले बैंक ग्यारेन्टी नभई टिकट दिँदैन। हिजो ट्राभल्स एजेन्सी दर्ता गर्न पहाड फोड्नुपथ्र्याे।

अहिले लोकतन्त्रमा पैसा हुनेले सुरुक्कै दर्ता गर्न सक्छ। त्यही भएर प्रतिस्पर्धा बढी छ। पैसा मात्र भएर पनि व्यापार हुँदैन। हुने भए राजधानीका प्रत्येक घरको कम्तीमा साढे २ करोड आउँछ।

हजारौं घरमा हजारौं व्यापारी जन्मन्थे होलान्। व्यापार गर्न चुनौतीसँग खेल्दा मज्जा आउने हुनुपर्दछ। रिस्क लिन सक्ने हुनुपर्दछ। मान्छे कमाउने कला हुनुपर्दछ। लगनशील, कर्मठ र इमानदारले मात्र व्यापार अगाडि बढाउन सक्छ।

ट्राभल्स एजेन्सी त हो देश हेर्न पनि पाइने मुख फेर्न पनि पाइने साथमा पैसा पनि पाइने भनेर कोही हामफाल्छ भने त्यसले राम्रो गर्दैन। कालान्तरमा यो सबै कुरा सत्यमा निकाल्न कम्तीमा १० वर्ष कुर्नुपर्दछ। धैर्यता नहुनेले यो व्यवसायमा नआए पनि हुने बताउँछन् भोला। भन्छन्– ‘कम्तिमा चार वर्ष चलाउँछु यति देश घुम्छु यति कमाउँछु भन्ने हो भने त्यसले काम गर्दैन।’

२१ वर्षे पट्ठा उमेरदेखि ७० नजिक आइपुग्दा पनि दिनरात यसमै बिताएकैले आज भोला कसैको दुई पैसा नलिई उदाहरणीय व्यक्ति बन्न सकेका छन्। भर्खर ट्राभल्स एजेन्सीमा लाग्ने अनि भोला जस्तै बन्न खोज्नेले कम्तीमा पनि उनको भन्दा आधि वर्षहरू यसमै खटिएर लाग्ने आँट बनाएर आउन पर्छ। यति धैर्यता भएर लागेमा भोलिको दिनमा प्रेसिडेन्टले जस्तै संसारभरका प्रख्यात एयरवेजसँग हातेमालो गर्दै हिँड्न सक्छ।

काम मात्र अगाडि लागेपछि पैसो लुसुलुसु पछि लाग्छ। पहिल्यै पैसो भनेर हिँडेमा जागिर खान सकिन्छ। व्यापार गर्न सकिँदैन। भोलाको यही ठहर छ। दोस्रो पुस्तामा उनले सम्पूर्ण कुरा सिकाउँदै व्यापार हस्तान्तरण नै गरिसके तैपनि उनी टाईसुटमा सजिएर प्रेसिडेन्ट आइरहन्छन्। के कसो हेरिरहन्छन्। पुस्ताले हजुरबा पुस्तामा उक्लिसके पनि उनी ठिटोझैं आफ्नो जिन्दगीलाई अगाडि बढाइरहेछन्।

 

प्रतिक्रिया दिनुहोस्