सूर्य

0
Shares

परिवर्तन देवकोटा

मनभित्रका अनेकौं चाहनाहरूले
ऊ पारिपट्टीको सुनौलो क्षितिज छुने
अकिञ्चन सपना बुन्दै गर्दा,
मनभित्रको मनले
भावनाको सुन्दर बगैंचा बनाउँदै गर्दा
जस्तो कि,
–माकुराले भविष्यका लागि बनाउँदै गर्दा
एउटा सुन्दर जाल

बाबु,
हो यस्तै यस्तै समयमा
तिमीमा पनि आउन सक्छ बाधा
जस्तो कि,
–एउटा जीवनका लागि तड्पिरहेको एम्बुलेन्स
फस्न सक्छ घन्टौंसम्म ‘ट्राफिक जाम’मा
जस्तो कि,
भूकम्पले भत्किएको धरहरा, पुनः बाँच्न खोज्दै गर्दा
फसेको छ, बलवान् ‘ठेकेदार’ को चँगुलमा,
हो बाबु,
त्यतिखेर तिमी
कदापि नआत्तिनु, नहडबडाउनु,

बाबु,
त्यतिखेर तिमी बन्नुपर्छ चम्किलो सूर्य
ऊ पारिपट्टि हेर त
अस्ताउनै लागेको मधुरो सूर्यले पनि
आखिर चुमेको छ सगर,
र रंगाएको छ क्षितिज।