कांग्रेस उम्मेदवारमाथि आक्रमण

0
Shares

विनोदसिंह विष्ट, बैतडी। 

बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मदवार सुरेन्द्रप्रसाद भट्टमाथि हातपात भएको छ। बुधबार राति साढे १० बजे नेकपाका कार्यकर्ताहरूले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको उम्मेद्वार भट्टले जानकारी दिनुभयो।

आफ्नो एकजना कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरूले नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेदवार भट्टले दाबी गर्नुभयो।

दोगडाकेदार गाउँपालिका–४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उम्मेदवार भट्टले बताउनुभयो। यो विषयमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेदवार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताउनुभयो।

उम्मेदवार भट्टमाथि हातपात भएको कुरा आफूले गम्भीर रुपमा लिएको उहाँले बताउनुभयो। यसैबीच नेपाली कांग्रेस बैतडीले बुधबार राति दोगडाकेदार गाउँपालिका–४ का वडा अध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि हातपात भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

नेपाली कांग्रेस बैतडीले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेद्वारमाथि आक्रमण हुनु नेकपाको अधिनायकवादी शैली भएको टिप्पणी गरेको छ। चुनाव प्रचारप्रसार गरी घर फर्किरहेका बेला बोलाएर आक्रमण गर्नु निन्दनीय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

शक्तिको आडमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भएको सो घटनाको निष्पक्ष छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ। नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न रहेका धर्मेन्द्र कपाडी, परमानन्द भट्ट, मोहन कार्की,महानन्द जोशी र धिरज भट्टमाथि कारबाही गर्न पनि माग गरेको छ।

यस्तै नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले पनि एक विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको छ। शक्तिको आडमा कांग्रेसका उम्मेदवारमाथि आक्रमण गरी उल्टै सामाजिक सञ्जालमार्फत तरुण दलका अध्यक्ष घनश्याम भट्टको चरित्र हत्या गर्ने काम भएको भन्दै खेद प्रकट गरेको छ।

तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाका दोषीलाई कारबाही गर्नसमेत माग गरेको छ। यसैबीच कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि नेकपा कार्यकर्ताले कुटपिट गरेको कुरा सत्य नभएको नेकपाले जनाएको छ।

नेकपा दोगडाकेदार गाउँपालिका कमिटीले बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेकपा कार्यकर्ताको कांग्रेस उम्मेदवारलाई हातपात गरेको कुरा भ्रमात्मक भएको जनाएको हो।