अवैध रुपमा हुण्डी कारोबार गर्ने दुई पक्राउ

0
Shares

काठमाडौं, (नेस)। 

अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपियाँर विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेकसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ नरदेवी ठेगाना भएका काठमाडौं रणमुक्तेश्वरस्थित अन्जनी ओभरसिजका सञ्चालक ५८ वर्षीय गोवद्र्धनप्रसाद सरावगी र अर्घाखाँची शितगंगा नगरपालिका–४ जोगेनिकोट ठेगाना भएका २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेका छन्।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं न्युरोडबाट गोवद्र्धनले हुण्डी गर्न दिएको अवैध रकम नगद ३० लाख रुपियाँसहित कृष्णप्रसादलाई तथा अवैध रकम नगद ८ लाख १२ हजार रुपियाँलगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेकसहित गोवद्र्धनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको उक्त महाशाखाले जनाएको छ।