प्रमको स्वास्थ्यमा क्रमिक सुधार सबैलाई दिनुभयो धन्यवाद

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आएको क्रमिक सुधारका कारण उहाँउठेर बस्न सक्ने हुनुभएको छ।

एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि उपचारमा संलग्न डाक्टरका अनुसार प्रधानमन्त्री ओली अहिले बेडमा बस्न र बोल्न सक्ने हुनुभएको छ। प्रधानमन्त्री ओलीले बुधबार राति ८ बजेर ५६ मिनेट जाँदा गरेको ट्विटमा भनिएको छः ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु।

यति बेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ।’ स्वास्थ्यस्थिति बारे चासो राख्ने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

बुधबारभन्दा बिहीबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार देखिएको र उहाँबेडमा बस्न तथा बोलचाल गर्न सक्ने भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

मंगलबारको अवस्थालाई हेर्दा उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको छ तर उहाँअहिल्यै हिँड्न सक्ने भने भइनसक्नुभएको पनि चिकित्सकले जनाएका छन्। उहाँको स्वास्थ्यको सुधार गति यही अवस्थामा रहने हो भने केही दिनमा हिँड्न सक्ने हुनुहुन्छ। अझै उहाँलाई एक साता अस्पतालमै राखी उपचार गराउनुपर्ने सल्लाह चिकित्सकहरूको रहेको छ।

मंगलबार बिहान असैय पेट दुखेर अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको तत्काल परीक्षण गर्दा एपेन्डिसाइटिस र पेरिटोनाइटिस पुष्टि भएपछि तत्काल शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि एक दिन भेन्टिलेटरमा राखी बुधबार बिहान भेन्टिलेटरबाट बाहिर निकालेर आईसीयू (सघन उपचार कक्ष) मा राखिएको छ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरी चिकित्सकको सल्लाहअनुसार समय समयमा उपचार गराउँदै आउनुभएका प्रधानमन्त्रीको पछिल्लो समय मिर्गौलाको समस्या देखिएको छ। प्रधानमन्त्री ओलीको बुधबार ५औँपटक डायलाइसिस पनि गरिएको छ र मृगौला प्रत्यारोपणको तयारी भइरहेको अवस्थामा उहाँलाई थप समस्या आएकाले प्रत्यारोपणका लागि केही समय कुर्नुपर्ने र उक्त समयसम्म हप्तामा २ पटक डायलाइसिस गर्नुपर्ने चिकित्सकको सल्लाह रहेको छ।

उहाँको ट्विटको पछाडि सयौं शुभचिन्तकले स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन्। मिश्रित रूपमा आएको स्वास्थ्य लाभमा कसैले सीमा विवाद टुंग्यान सल्लाह दिएका छन् भने कसैले देश पनि प्रधानमन्त्री जस्तै अस्वस्थ भएकाले देश र प्रधानमन्त्री दुवैको स्वास्थ्य लाभको कामना गरेका छन् त कसैले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आराम गर्न सल्लाह दिएका छन्।