पुलिस फुटबललाई टेलिकमको साथ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम र नेपाल पुलिस क्लबको पुरुष तथा महिला फुटबल टिमबीच प्रायोजन गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।प्रहरी प्रधानकार्यालयमा बुधबार आयोजित एक समारोहबीच नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुका साथै उक्त सम्झौतापत्र आदानप्रदान गर्नुभएको थियो।

दुबै पक्षबीच १ वर्षका लागि भएको उक्त सम्झौताअनुसार नेपाल पुलिस क्लबको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन गरेबापत कुल ३२ लाख रुपियाँ नेपाल टेलिकमले उपलब्ध गराउने छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका खेलाडीहरूले विगतदेखि नै राष्ट्रलाई चिनाउन पुर्याउँदै आएको योगदानको चर्चा गर्दै सम्झौताले राष्ट्रिय खेलकुदलाई अगाडि बढाउन र खेलकुद जगत्मा एक्यवद्धता जगाउन थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

फुटबल खेलबाट राष्ट्रियता र राष्ट्रिय एकताको जगेर्ना गर्न ठूलो भूमिका निर्वाह हुने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘शान्ति सुरक्षा, अपराध अनुसन्धान सँगसँगै खेलजगतलाई अगाडि लैजाँदै राष्ट्रको गरिमा बढाउन नेपाल प्रहरी लागिपर्दै आएको छ।’

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनाललाई जर्सी तथा फुटबल हस्तान्तरण गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फुटबल टिमको प्रायोजन गर्ने मौकाको सम्झौताप्रति खुसी व्यक्त गर्नुभयो। यस महत्वपूर्ण सम्झौताले नेपाल प्रहरीका खेलाडी र खेलप्रति उत्साह जगाई देशको नाम उच्च राख्न प्रोत्साहन मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।