नेपालको भलिबलमा विजयी शुरूआत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलतर्फ नेपालको विजयी शुरुआत भएको छ। औपचारिक रुपमा मंसिर १५ गते शुरु हुने सागमा भलिबल खेल चार दिन अगाडि नै आयोजना गरियो। त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको भलिबलमा नेपालले दुबै स्पर्धामा जित हात पारेको हो।

दिउँसो भएको महिला भलिबलतर्फ नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो। नेपालले सो समूह ए अन्तर्गत् खेल २५–९, २५–९, २५–११ ले जितेको थियो। आयोजक नेपालले शुरुदेखि नै दवाव दिँदा बंगलादेशका खेलाडीहरूको लय बिग्रिएको थियो।

यसले खेल एकपक्षीय हुन पुग्दा खेलमा कुनै स्वाद पनि रहेन। बंगलादेशले स्लो खेल्न थालेपछि नेपाली टोलीले पनि त्यसरी नै खेल्न पुगेको थियो। प्रशिक्षक जगदीश भट्टले विपक्षीले खेलमा दरो चुनौती दिन नसक्दा नेपालको खेल पनि स्लो हुन पुगेको बताए।

त्यस्तै कप्तान अरूणा शाहीले पनि प्रतिद्वन्द्वीको प्रदर्शनले आफूहरूको खेलमा पनि प्रभावित गरेको बताइन्। उनले नेपालले भारतलाई हराउन सकेमा साग भलिबलमा स्वर्ण जित्न सक्ने आशा गरेकी छिन्।

पुरुष टोली पराजित

बुधबार राति नै भएको भलिबलको पुरुषतर्फ भने नेपालले बंगलादेशसँग पराजित भयो। अत्यन्त रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३–२ सेटमा पराजित भयो। खेलमा दुईपटक अग्रता लिएर पनि नेपालले हार व्यहोर्नुपर्यो। पहिलो सेट नेपालले २५–२१ ले जितेको थियो।

तर दोस्रो सेटमा बंगलादेशले २५–२३ ले जितेर सेट १–१ को बराबरीमा पुर्याएको थियो। त्यस्तै तेस्रो सेटमा पुनरागमन गर्दै नेपालले २५–१९ को स्कोरसहित खेलमा २–१ को अग्रता बनाएको थियो। तर चौथो र पाचौं सेट भने बंगलादेशले २६–२४ र १५–१२ ले आफ्नो पक्षमा पारेपछि नेपाल पराजित भयो।