सहुलियत कर्जा नपाए तत्काल खबर गर्नुस् : अर्थमन्त्री खतिवडा 


नेपाल समाचारपत्र, काठमाडौं ।
बैंकहरूले सहुलियत कर्जा दिन आनाकानी गरे अर्थ मन्त्रालयमा तत्काल जानकारी दिन अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गर्नुभएको छ। बुधबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहुलियत कर्जा दिन आनाकानी गर्ने बैंकबारे तत्काल अर्थ मन्त्रालयको इमेलमा खबर गर्न आग्रह गर्नुभएको हो।
कार्यक्रममा बोल्दै उहाँले युवालाई जागरुक र सक्षम बनाउनको लागि विद्यालयस्तरदेखि नै सीपमुलक शिक्षाको खाँचो रहेको बताउनुभयो। वैदेशिक रोजगारले सिर्जना गरेको सीपलाई देश विकासमा लगाउनका लागि प्रोत्साहन स्वरुप पनि यो सहुलियत कर्जा प्रवाह गरिएको उहाँले उल्लेख गर्नुभयो।
राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको उपस्थितिमा भएको सो कार्यक्रममा बैंकरले यो पहिलोपटक आएको सहुलियत कर्जामा केही कठिनाइ देखिएकाले सही कार्यान्वयन हुन नसकेको र अबका दिनमा सहुलियत कर्जा ढुक्कसँग प्रवाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
राष्ट्रिय युवा परिषद्को पहलमा भएको सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत दोस्रो संशोधन २०७६ प्रभावकारी कार्यान्यनको लागि राष्ट्रिय युवा परिषदका कार्यकारी अध्यक्ष माधव ढङ्गेल र राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट किरणकुमार श्रेष्ठ, कृषि विकास बैंकका तर्फबाट अनिलकुमार उपाध्याय र नेपाल बैंक लिमिटेडको तर्फबाट कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभयो।
युवा उद्यमशीलता र स्वरोजगारको प्रवद्र्धन गर्ने सम्बन्धमा समझदारी भएको हो। कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिने जनाइएको छ।