अर्काको खाताबाट रकम निकाल्ने गिरोह पक्राउ 

कर्मचारीको मिलेमतो भएको आंशका 


परिवर्तन देवकोटा, काठमाडौं।
नक्कली हस्ताक्षर गरी विभिन्न व्यक्तिको बैंक खाताबाट अनाधिकृत रूपमा रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त गिरोह बैंकले विभिन्न व्यक्तिको खाताबाट लाखौं रुपियाँ निकाल्ने ६ जनाको गिरोहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका–३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बाग्लुङ गलकोट नगरपालिका– ३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक साबिक ज्यामिरे गाविस–९ का ३० वर्षीय गोविन्द घिमिरे रहेका छन्।
 
प्रहरीले यो गिरोहको साथबाट नगद १८ लाख ५० हजार रुपियाँ, विभिन्न बैंकहरूबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक ५४ थान, काटीएको अवस्थाको चेकबुक १ सय ५६ थान, विभिन्न बैंकको एटीएम कार्ड ८९ थान, विभिन्न व्यक्तिको नाममा रकम उल्लेख गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैंकबाट विभिन्न व्यक्तिका नाममा जारी भएका चेकहरू ३ सय २९ थान लगायतका सामान बरामद गरेको छ।
उक्त गिरोहको साथबाट विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० थान, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, विभिन्न व्यक्तिका हस्ताक्षर नमुना र विभिन्न व्यक्तिको नाम उल्लेख गरिएको डायरी २ थान, विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तयारी फाराम ३ सय थान, विभिन्न व्यक्तिको फोटो ८ सय २५ थान तथा अन्य बैंकसँंग सम्बन्धित विभिन्न डकुमेन्ट अन्दाजी २ बोरा समेत प्रहरीले बरामद गरेको जानकारी दिएको छ।यस घटनामा बैंकका कर्मचारीको मिलेमतो रहेको आशंकामा प्रहरीले सुक्ष्म अनुसन्धान गरेको जनाएको छ।
यसरी भयो चोरी

गत आइतबार राति जनता बैंकका खातावाल गोपालमान राजबाहकको खाताबाट पटक–पटक गरी १९ लाख ९९ हजार रुपियाँ निकालेको म्यासेज आयो। राजबाहकले प्रहरीलाई आफ्नो खाताबाट रकम झिकिएको म्यासेज मोबाइलमा आएको तर आफूले चेक कसैलाई नदिएको जानकारी दिएपछि प्रहरीले अनुन्धान थालेको थियो।
अनाधिकृतरूपमा अरूको खाताबाट रकम झिकेको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बेला आइतबार पीडितको खाताबाट पुनः पैसा निकाल्न चेक बोकी एक जना व्यक्ति जनता बैंक न्युरोड शाखामा आएको सूचना प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिई उक्त कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

आरोपितहरूले बैंकमा खाता रहेका विभिन्न व्यक्तिको चेकमा रहेको हस्ताक्षर चोर्ने, सोही व्यक्तिको नाममा चेक हराएको निवेदनसमेत दिई नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाई लाखौं पैसा निकाल्ने गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ।
प्रहरीका अनुसार सो गिरोहले विभिन्न व्यक्तिको नाममा रहेको खाताको सक्कली चेक लिएको तथा खातावालहरूको सक्कली भिसा कार्ड समेत बनाई प्रयोगमा ल्याएको अनुसन्धानबाट खुल्न आएको छ।
पक्राउ परेका व्यक्तिले हालसम्म कति रकम निकालेको भन्नेबारे प्रहरीले खुलाएको छैन। प्रहरीले सम्बन्धित बैंकसँग समन्वय गर्दै अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरू उपर पाटन उच्च अदालतबाट बैंकिङ कसुरसम्बन्धी ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुक्तिनाथ विकास बैंकबाट पनि चोरियो १० लाख

मुक्तिनाथ विकास बैंकबाट समेत सो गिरोहले १० लाख रुपियाँ लिएको खुलासा भएको छ। सो गिरोहले मुक्तिनाथ विकास बैंकबाट चेकमार्फत भुक्तानी लगिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
के भन्छ राष्ट्र बैंक ?
यस घटनाप्रति नेपाल राष्ट्र बैंक नै आश्चर्यमा परेको छ। घटनाको परिस्थिति कसरी सिर्जना भयो भन्नेबारे नै अन्योल देखिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। यद्यपि, घटनाबारे प्रहरी एवम् केन्द्रीय बैंकले अनुसन्धान गरिरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले नेपाल समाचारपत्रलाई बताउनुभयो।
नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘अनाधिकृत व्यक्तिले अनाधिकृत तरिकाबाट बैंकको महत्वपूर्ण कागजात कसरी पायो ? यो अचम्म लागिरहेको छ।’ उहाँले अहिले यो राष्ट्र बैंकका लागि निकै चुनौतिको विषय भएको उल्लेख गर्नुभयो।