उद्योगी व्यवसायीबीच चुनावको सारगर्मी बढ्यो

0
Shares

नेपाल समाचारपत्र, बाँके।
आगामी माघ ११ गते हुने भनिएको नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनको चहलपहल देखिन थालेको छ। निर्वाचनलाई लक्षित गरेर केही पार्टीले आन्तरिक छलफल शुरु गरेका छन्। उम्मेदवार हुन चाहेका व्यक्तिको ‘दौडधुप’ पनि देखिन थालेको छ। राप्रपाले नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा निर्वाचनबारेमा छलफल गरेको छ।
अहिलेसम्मको चुनावमा एकल प्रतिस्पर्धा नगरेको राप्रपानिकट व्यवसायीले सबैभन्दा अगाडि नै पार्टीमा छलफल थालेर ‘महत्वपूर्ण हिस्सा’को आशा गरेको छ। राप्रपाले सलाउद्दिन जसगढलाई अगाडि सार्ने प्रयास गरेको छ। अझ उसको रणनीति एक्लै चुनावमा जानुभन्दा पनि ‘प्रजातान्त्रिक’ प्यानलसँग सहकार्य गरेर अघि बढ्ने देखिन्छ।
नेता जसगढले एक्लै चुनाव लड्ने कि सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो।नेकपा र कांग्रेसजस्ता ठूला पार्टीले उम्मेदवार बाहिर ल्याइसकेका छैनन्। आन्तरिक छलफल भने चलाइरहेका छन्।
नेकपाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) नै उम्मेदवार हुने बताइएको छ। ‘चुन्नाको सम्भावना हुन सक्छ। अहिले व्यापारीहरूले छलफल गर्दैछन्। पार्टीमा कुरा आइपुगेको छैन, नेकपाका जिल्ला अध्यक्ष आइपी खरेलले भन्नुभयो, संघको चुनाव अझै लागिसकेको छैन।’
संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भित्रभित्र उम्मेदवार छनोट गर्ने काम भइरहेको बताउनुभयो। नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले ठूलै परिवर्तन भएन भने नेकपाको उम्मेदवार चुन्ना हुने जानकारी दिनुभयो।संघको निर्वाचन भने घोषणा भइसकेको छैन।
संघका अध्यक्ष नन्दलाल बैश्यले माघ ११ गते चुनाव गर्ने तयारी भएको बताए। ‘भोलि हुने बैठकले निर्वाचनको मिति घोषणा हुन्छ, संघका अध्यक्ष बैश्यले भन्नुभयो, माघ ११ गते चुनाव गर्ने कुरा भइरहेको छ।’
अहिलेसम्म संघको चुनावमा तीन वटा प्यानल हुँदै आएको थियो। कांग्रेस, एमाले र माओवादी केन्द्रले प्यानलगत चुनाव लड्दै आएकोमा अहिले एमाले र माओवादी एक भएर नेकपा भएपछि दुई वटा प्यानल हुने आंकलन गरिएको छ।