सैन्य प्रमुखको कार्यकाल नबढाउन अदालतको आदेशले इमरानलाई अप्ठ्यारो

0
Shares

इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानका सैन्य प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल बढाउने आदेशलाई सर्वोच्च अदालतले अस्थायी रूपमा निलम्बित गर्ने फैसला दिएपछि इमरानखानको सरकार अप्ठ्यारोमा परेको छ। सर्वोच्च अदालतको यो आदेशलाई अप्रत्यासित मानिएको छ।

सर्वोच्चको यो फैसला प्रधानमन्त्री इमरान खानका लागि ठूलो धक्काका रूपमा हेरिएको छ। प्रधानमन्त्री इमरान र जनरल बाजवाको अत्यन्त राम्रो सम्बन्ध रहेको मानिन्छ। बाजवालाई हटाउने अदालतको यो निर्देशनले उनलाई अप्ठ्यारो पारेको छ।

जनरल बाजवाको कार्यकाल नोभेम्बर २९ मा समाप्त हुँदै छ।यस घटनालाई लिएर मंगलबार पाकिस्तानका कानुन मन्त्री फरोग नसिमले राजीनामा दिएका थिए। सर्वोच्च अदालतले जनरल बाजवाको कार्यकाल बढाउने मन्त्रिपरिषद्को निर्णयलाई निलम्बित गरेपछि क्याबिनेटको आपत्कालिन बैठक बसेको थियो र सोही बैठकमा कानुन मन्त्रीको राजीनामाको निर्णय गरिएको थियो।

यद्यपि कानुनमन्त्रीले स्वेच्छाले राजीनामा दिएको जनाइएको छ। तर जनरल बाजवाको कार्यकाल बढाउने आवेदन उनले राष्ट्रपतिलाई नपठाएको तथ्य खुलासा भएको छ। पाकिस्तानका रेल मन्त्री शेख रसिद अहमदले कानुन मन्त्रीको राजीनामालाई लिएर उनले स्वच्छाले राजीनामा दिएको जानकारी दिए।

अब उनी सर्वोच्च अदालतमा सैन्य प्रमुखको कार्यकाल बढाउने मुद्दामा सरकारका तर्फबाट तर्क राख्नेछन्। प्रधानमन्त्री इमरान खानले फरोग नसिमको राजीनामा स्वीकार गरिसकेको छ।पाकिस्तान बनेपछि त्यहाँ सेनाको भूमिका महत्वपूर्ण रहेको छ।

पाकिस्तान सरकारमा सेनाको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका सँधै रहँदै आएको छ। इमरानले जनरल बाजवाको कार्यकाल बढाउने कुरामा आफ्नो समर्थन दिने बेला सुरक्षा चिन्ताका कारण उनी रहनु आवश्यक रहेको बताएका थिए।

जनरल बाजवाको कार्यकाल बढाउने कदम विरुद्ध सर्वोच्च अदालतमा बुधबार पनि सुनवाइ भएको छ। मंगलबार सर्वोच्च अदालतका मुख्य न्यायाधीश आसिफ सइद खोसासहित अन्य दुई न्यायाधीशले अस्थायी रुपमा कार्यकाल बढाउने आदेशलाई निलम्बित गरेका थिए।

साथै जनरल बाजवाको कार्यकाल बढाउने मामिलामा भएको असंगतिलाई लिएर सरकारलाई सचेत पनि गराइएको छ। सत्तामा आउनुअगाडि इमरान खान सेना प्रमुखको कार्यकाल बढाउने पक्षमा थिएन। सेना प्रमुखको कार्यकाल बढाउनु सेनाको नियमलाई बदल्नुजस्तो काम भएको र एक संस्थाका रुपमा सेनालाई कमजोर पार्ने उनले बताएका थिए।

सन् २०१० मा पाकिस्तान पिपल्स पार्टीको सरकारमा सेना प्रमुख रहेका असफाक परवेज कयानीको कार्यकाल बढाएपछि इमरानको उक्त बयान आएको थियो। तर जनरल राहिल सरिफले आश्चर्यजनक रूपमा अवकास प्राप्त गर्नु १० महिना अगाडि कार्यकाल बढाउने कदमलाई स्वीकार नगर्ने घोषणा गरेका थिए।