डा. अधिकारीको सञ्चार सिद्धान्तीकरण लोकार्पण

0
Shares

काठमाडांै, (नेस)
काठमाडौँ विश्वविद्यालयका सह प्राध्यापक डा. निर्मलमणि अधिकारीको पैंतालिसौँ पुस्तक ‘सञ्चार सिद्धान्तीकरण’ लोकार्पण भएको छ। बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा.रामकृष्ण रेग्मी, डा. पीयूष मिश्र र श्रीराम सिंह बस्नेतले संयुक्त रुपममा पुस्तकको लोकार्पण गर्नु भएको हो।

समारोहमा सञ्चार क्षेत्रका अग्रणी प्राध्यापक रामकृष्ण रेग्मी, डा. पीयूष मिश्र र श्रीराम सिंह बस्नेतलाई सम्मान गरिएको छ। समारोहलाई सम्बोधन गर्दै प्राध्यापक रामकृष्ण रेग्मीले नेपाल ज्ञान, परम्परामा अग्रणी रहेको उल्लेख गर्दै मौलिक सञ्चारमा सिद्धान्तीकरणको पुस्तक आउनु सम्पूर्ण नेपाली प्राज्ञिक क्षेत्रको लागि गर्वको कुरा भएको बताउनुभयो।

डा.अधिकारी पूर्वीयदर्शन तथा पाश्चात्यदर्शनका गहन अध्येताभएको बताउँदै डा. पीयूष मिश्रले पुस्तकले सञ्चार अध्ययनमा नयाँ आयाम थपेको बताउनुभयो।
सिद्धान्त प्रतिपादन गरी अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नु सामान्य कुरा नभएको बताउँदै श्रीराम सिंह बस्नेतले गुरु वर्गको सम्मान गर्नु भएकोमा धन्यवाद प्रकट गर्नुभयो।

पुस्तकका लेखक डा.निर्मलमणि अधिकारीले विद्यार्थीकालदेखि सञ्चार क्षेत्रमा सक्रिय रहेको अनुभव साट्दै स्नातकोत्तर तहमा आमसञ्चारको अध्ययन गर्ने निर्णय महत्वपूर्ण भएको बताउनुभयो।

स्नातकोत्तर तहबाट शुरु भएको सञ्चार क्षेत्रको प्राज्ञिक कार्यको निरन्तरता स्वरुप ‘सञ्चार सिद्धान्तीकरण’ पुस्तक प्रकाशित भएको बताउनुभयो। तत्कालिन गुरुवर्गको मार्गदर्शनमा नेपालमा बसेर नेपाली मौलिक दर्शनमा आधारित पुस्तक प्रकाशन सम्भव भएको बताउनुभयो।

ज्ञान परम्परामा समृद्ध रहेको नेपाललाई सबै क्षेत्रमा समृद्ध बनाउन ब्यक्तिगत उन्नतिलाई त्यागेर विगत केही वर्षदेखि जरो किलो महाअभियानमार्फत राष्ट्र निर्माणको अभियानमा समर्पित भएको डा. अधिकारीले जानकारी दिनुभयो।

डा.अधिकारीले प्रतिपादन गर्नु भएको सञ्चारको सिद्धान्त र ढाँचा विश्वका दुई दर्जन बढी भाषामा अनुवाद भई अध्ययन, अध्यापन भइरहेको छ। उहाँ सञ्चार विश्वकोषमा समेटिनु भएका एकमात्र एशियाका सञ्चार सिद्धान्तकार हुनुहुन्छ।

पुस्तकको प्रकाशन सञ्चार योग मिडिया प्रालिले गरेको हो। कार्यक्रम सञ्चारयोग मिडिया प्रालिका अध्यक्ष उर्मिला खनाल अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका भाषा तथा आमसञ्चार विभागका प्रमुख सुदर्शन दाहाल तथा डा. सुधांसु दाहाल र सञ्चारयोग मिडियाकी सञ्चालक सदस्य विना अधिकारी वाग्लेले पनि पुस्तकबारे प्रकाश पार्नु भएको थियो।