पशुपति क्षेत्र विकास कोषलाई भारतीय महिला संघको सहयोग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

भारतीय महिला संघले पशुपति क्षेत्र विकास कोषलाई दुईवटा सवारी साधन हस्तान्तरण गरेको छ।पशुपति मन्दिर परिसरमा बुधवार आयोजित एक कार्यक्रममा भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा.प्रदीप ढकाललाई उच्च–गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताको सवारी साधन हस्तान्तरण गर्नु भएको हो।

वातावरण मैत्री सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाममोटर वकर््सले गरेको हो। सवारी साधन हस्तान्तरण कार्यक्रममा भारतीय महिला संघका अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध–वृद्धा तथा अशक्त व्यक्तिका लागि यी वातावरण मैत्री सवारीसाधन उपयोगी हुने बताउनु भएको थियो।

यी सवारी साधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्ने बताइएको छ।साथै उहाँले भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन विद्युतीय सवारी साधनको हस्तान्तरण अर्को कोशेढुङ्गाको रुपमा रहेको बताउनु भएको थियो।

भारतीय दूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरूको एक सङ्गठन हो। जसले नेपालमा रहेका भारतीय महिलाहरूलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ।

संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रतालाई प्रवद्र्धन गर्ने काम गर्दछ। भारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरू पनि गर्दै आएको छ।

हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरू सञ्चालन गरेको छ।

युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर तथा यससँगैका क्षेत्रको संरक्षण तथा संचालनका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो।यस अघि पशुपति क्षेत्र विकास कोषलाई लक्ष्मी बैंकले सञ्चालन गरेको इ–रिक्सा सञ्चालनमा छन्।